समाचार

सूर्यविनायक नगरपालिका वडामा बालविवाह बिरुद्ध अभियान सञ्चालन



भक्तपुर, ७ कार्तिक । ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बालविवाह मुक्त हाम्रो प्रदेश’ भन्ने मुल नाराका साथ सूर्यविनायक नगरपालिकाका वडाहरुमा बालविवाह विरुद्ध अभियान सञ्चालन गरिएको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय प्रदेश नं. तीनले बालविवाह अन्त्य सम्बन्धी प्रादेशिक रणनीति, २०७६ लागु गरि वि.सं. २०७८ को अन्त्य सम्म प्रदेशलाई बालविवाह मुक्त प्रदेश बनाउने लक्ष्य अनुरुप सूर्यविनायक नगरपालिकाको वडाहरुमा जनप्रतिनिधि, स्वास्थ्य चौकीका प्रतिनिधि, आमा समूह, बाल संरक्षण उपसमिति, बालक्लबका प्रतिनिधि, सरोकारवाला निकाय र व्यक्तिहरुलाई लक्षित गरि सूर्यविनायक नगरपालिकाको सामाजिक विकास समितिले आफ्नो स्थानीय तहलाई बालविवाह मुक्त तह निमार्णको लागि बालविवाह विरुद्धको अभियान सञ्चालन गरि वडाहरुमा अभिमुखिकरण सञ्चालन गरिरहेको छ ।

यस अभियानले प्रदेश सरकारको अभियानलाई सफल पार्नको लागि मद्दत पुग्ने र बालविवाह सामाजिक अपराध हो यसको विरुद्ध लाग्न र सुसूचित पार्न यस कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष एंव सामाजिक विकास समितिका संयोजक किरण थापाले बताउनु भयो ।

साथै वडाहरुमा सञ्चालन भए प्रश्चात विद्यालयहरुमा पनि क्रमश सञ्चालन गरिने सामाजिक विकास मन्त्रालय प्रदेश नं।०३ अन्तर्गतका भक्तपुर जिल्लाका बालविवाह मुक्त प्रदेश अभियान सहजकर्ता दिपेश बिसुङ्केले जानकारी दिनु भयो ।