काठमाडौँ, १० मंसिर । निजी मेडिकल कलेजलाई विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्न सरकारले दिएको समयसीमाको मंगलबार अन्तिम दिन हो । शिक्षा मन्त्रालयले कात्तिक २६ गते सार्वजनिक सूचना प्रकाशन गरी निजी मेडिकल कलेज सञ्चालकले विद्यार्थीसँग गैरकानुनी रुपमा असुलेको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न १५ दिने अल्टिमेटम दिएको थियो । तर निजी कलेजहरु सरकारी निर्देशन मान्नुको साटो उल्टै विद्यार्थी र तिनका अभिभावकलाई धम्की दिएरु तह लगाउनतर्फ लागेका छन् । कतिपय कलेजले सीमापारिबाट सुटर झिकाएर हत्या गर्नेसम्मको धम्की विद्यार्थीलाई दिएको नेकपा निकट अनेरास्ववियुका संयोजक ऐन महरले बताए ।
१५ दिने समय सीमा सकिनु अघिल्लो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी कलेज सञ्चालकसँग अतिरिक्त शुल्क फिर्ता गराउन दिनभरि सक्रिय रहे । मन्त्री पोखरेलले बिहान ८ः३० बजे त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा, काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजू, डिनहरु, मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी, सदस्यसचिव हरि लम्सालसँग मेडिकल कलेजको बदमासीबारे छलफल गरेका थिए ।
‘मन्त्रीज्यूले उपकुलपति तथा डिनहरुलाई तोकेभन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गराउन कडा निर्देशन दिनुभयो,’ मन्त्रीका स्वकीय सचिव पूरण केसीले भने, ‘त्यसलगत्तै मन्त्रीले दिउँसो १ बज नेकपा अनेरास्ववियु र नेवि संघका विद्यार्थी नेतासँग छलफल गर्नुभयो । १ः४५ बजे देशभरिका निजी मेडिकल कलेज सञ्चालकसँग छलफल गरी बढी लिएको शुल्क फिर्ता गर्न अन्तिमपटक निर्देशन दिनुभयो ।’ याे खबर नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्