राजनीति

नेकपा सचिवालय बैठक सम्पन्न, उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन



काठमाडौँ, १८ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को आज बिहान बसेको सचिवालयको बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमाले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न बैठकले उपनिर्वाचन भएका वडा तहदेखि जिल्ला तहका कमिटीले समीक्षा गरेर त्यसको प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले यही मङ्सिर २३ गते बस्ने सचिवालयको अर्को बैठकले उपनिर्वाचनको व्यवस्थित समीक्षा गर्ने जानकारी दिए । आजको बैठकले उपचाररत प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामनाको प्रस्ताव पारित गरेको छ ।