राजनीति

गैँडाकोटका तीन हजार रुख काटिने



नवलपरासी, मंसिर २१ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिकाभित्रका तीन हजार २१८ वटा रुख काटिने भएको छ ।

चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा रहेका रुख काटिने भएको हो ।

सव डिभिजन वन कार्यालय गैँडाकोटका सहायक वन अधिकृत ज्योतिप्रसाद कोइरालाका अनुसार सडक विस्तारका लागि गैँडाकोटमा काटिने रुखको छपान सकिएको छ । वन मन्त्रालयबाट आदेश आएपछि छपान भएका रुखको कटान शुरु गरिने छ । रुखलाई दुई तहमा वर्गाीकरण गरी छपानको काम भएको छ ।

थुम्सीबाट मुकुन्दपुरसम्म हनुमान मन्दिर धार्मिक वन, मुकुन्दसेन सामुदायिक वन, नारायणी सामुदायिक वन र सिद्धीदात्री कोटिहोम धार्मिक वन रहेका छन् ।

त्यसैगरी, नारायणी सामुदायिक वनमा पाँच इञ्चभन्दा ठूला एक हजार ७१ तथा पाँच इञ्चभन्दा साना १९७ रुखमा छपान गरिएको छ । त्यस्तै सिद्धीदात्री कोटीहोम धार्मिक वनमा पाँच इञ्चभन्दा ठूला सात तथा पाँच इञ्चभन्दा साना एउटा रुखमा छपान भएको उहाँले जानकारी दिनुभयो । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि पहिलो खण्डअन्तर्गत नवलपुरको कावासोती नगरपालिकामा पर्ने लोकाहाबाट काम शुरु भएको छ ।

पूर्व पश्चिम राजमार्गमा पर्ने नारायणगढ–बुटवल सडकखण्डको ११३ किलोमिटर सडक विस्तारका लागि दुई खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको छ । रुख कटान आदेश आएसँगै रुख काटेर गैँडाकोटबाट समेत सडक विस्तारको काम शुरु गर्ने कम्पनीले जनाएको छ ।