काठमाडौँ, २२ मंसिर । प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले स्काई वाक टावरले विश्वको नजरमा दक्षिण एसियामा नेपालको अर्को परिचय नै थप गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वन्डर्स नेपालले निर्माण गर्न लागेको दक्षिण एसियाकै सवैभन्दा पहिलो स्काई वाक टावरको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले आम नेपाली युवाहरुको सपना नै यथार्थको बाटोको रुपमा एउटा उदाहरणको लागि स्काई वाक टावर रहेको उल्लेख गर्दै समृद्ध नेपालको राष्ट्रिय चाहनालाई पुरा गर्न उक्त कार्यले विशेष भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
गरे सम्भव हुन्छ भन्ने प्रमाणित गर्नेमा विश्वास रहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले टावर निर्माणले देश निर्माणको अभियानमा जुटेकालाई मार्गनिर्देश तथा आधार तयार गरेको समेत बताउनुभयो । उहाँले स्काई वाक टावरले नेपालको अर्को परिचय नै थप हुने भएको समेत दावी गर्नुभयो ।
उक्त स्काई वाक टावर तीन सय करोडको लगानीमा ७८ मिटर अग्लो बन्ने भएको छ । उक्त टावर शिलान्यास गरिएको १८ महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्