राजनीति

माथिल्लो अरुण जलविद्युत् आयोजना : निर्माण तयारी अन्तिम चरणमा



काठमाडौँ, ३० मंसिर । संखुवासभाको भोटखोलामा बनाउन लागिएको एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना आर्थिक रुपले आकर्षक देखिएको छ । यो आयोजनाको सम्भाव्यता अध्ययनले प्राविधिक रुपले चुस्त र उत्पादन लागत, लगानी प्रतिफलमा आकर्षक देखाएको हो ।

सरकारी आयोजनाका रुपमा नेपाल विद्युत् प्राधिकरण मातहत बनाउन लागिएको अर्धजलाशययुक्त सो आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत विकास गर्न लागिएको हो । यो योजनाको निर्माण तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । आयोजना मन्त्रिपरिषद्ले गत वर्षको असोजमा कम्पनी मोडेलमा बनाउने निर्णय गरेको थियो । माथिल्लो अरुण जलविद्युत् आयोजनालाई गेमचेन्जर आयोजनाका रुपमा पनि हेरिएको छ ।

सन् २०२२ को अन्त्यतिरबाट निर्माण थाल्ने र २०२७ को मेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसमेत गरी एक खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । यसअनुसार प्रतिमेगावाट लागत १५ करोड ८ लाख रुपैयाँ हुन्छ ।

वार्षिक चार हजार ५१२ मेगावाट आवर विद्युत् उत्पादन हुने यो आयोजनाबाट सुक्खायामका चार महिनामा मात्रै २८ प्रतिशत विद्युत् उत्पादन हुनेछ । प्रतिवेदनअनुसार प्रतिवाट विद्युत् उत्पादन लागत ३.५ सेन्ट (अमेरिकी डलर) रहनेछ । त्यस्तै आर्थिक प्रतिफल दर १७.९ प्रतिशत र लागत प्रतिफल अनुपात लगानीको दोब्बर हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।