Banner News

उत्पादनका स्रोतसाधनलाई जनताको श्रम सम्बन्धसँग जोड्नुपर्दछ : मन्त्री बाँस्कोटा



काठमाडौँ, ४ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उत्पादनका स्रोतसाधनलाई जनताको श्रम सम्बन्धसँग जोड्नु पर्ने बताएका छन ।

आज बनेपामा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा : आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले गुणस्तरीय शिक्षाभित्र ‘श्रमलाई सम्मान गर्नुपर्छ’ भन्ने चेतना दिन नसकेको बताए ।

उनले भने, ‘उत्पादनका स्रोतसाधनलाई जनताको श्रम सम्बन्धसँग जोड्नुपर्दछ, जसमा सम्मान प्रमुख विषय हुन्छ । सरकारलाई रोजगारीको अवसर सिर्जना गरेन भनेर आलोचना गर्ने संस्कार बसेकाले गरगहना, प्लम्बिङ, पुनः प्रयोग हुने सामग्री सङ्कलन, मेशिनरी मर्मत, कपडा डिजाइनका काममा नेपाली जनशक्ति लाग्नुपर्ने आवश्यकता रहेको समेत बताए ।’

पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताउदै उनले भने, ‘पाँच वर्षभित्र गरीबीलाई १५ प्रतिशतमा झार्छौँ, जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ ।’

उनले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण हुने बताए । ‘हामी नीति–निर्माणको चरणमा छौँ, नीति पनि कार्यान्वयन गर्न समय लाग्छ, अनि क्रमशः लागू हुँदै जान्छ ।’