राजनीति

नेपालकै सवैभन्दा पहिलो वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट सञ्चालनमा



ललितपुर, ५ पौष । नेपालकै सवैभन्दा पहिलो वान डे थ्रिडी आर्ट रेस्टुरेन्ट शुक्रवारदेखी औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

जिल्लाको कुमारी पाटीमा सञ्चालनमा आएको उक्त रेस्टुरेन्ट सञ्चालन भएको एउटा घरमा बसी विश्वका प्राकृतिक मनोरम दृष्यहरुको अवलोकनमात्र नभई वास्तविक ठाउँमा नै पुगेजस्तो अनुभुत हुने प्रकारले थ्रिडी आर्ट गरिएको छ ।

करिव १ करोड ५० लाखको लागतमा सञ्चालनमा ल्याईएको उक्त रेस्टुरेन्टको थ्रिडी आर्ट गर्न करिव पाँच महिना लागेको सञ्चालक सुन्दर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमण वर्ष २०२० को प्रचार प्रसारको लागि पनि महत्वपूर्ण हुने भएको छ । जहाँ नेपालको कला, संस्कृति, प्राकृतिक मनोरममात्र नभई विश्वका सामुन्द्रिक आनन्द समेत लिन पाइने छ ।

 

रेस्टुरेन्टको प्रवेशद्वारमा नै नेपाल भ्रमण वर्ष २०२० को जानकारीमुलक कुराहरु समावेश गरिएको छ । आफ्नो रोजाई अनुसारको प्राकृतिक मनोरमयुक्त वस्ने व्यवस्थापन सहितको रेस्टुरेन्टमा नेपालको अर्गानिक खानेकुराहरुलाई समावेश गरिएको छ । ग्राहकको रोजाई अनुसारको बस्ने कोठाको व्यवस्थापनको साथमा प्रत्येक कोठामा सजाईएको थ्रिडी आर्ट अनुसारको नै सांगितिक वातावरणको समेत व्यवस्था गरिएको सञ्चालक विष्टले जानकारी गराउनुभयो ।

शुक्रवारदेखी औपचारिक रुपमा सञ्चालनमा ल्याईएको रेस्टुरेन्टको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, गायक रामकृष्ण ढकाल, धिरज राई, नायीका निता ढुङ्गानालगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा बोल्दै सांसद बस्नेतले नेपालमा मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट तथा नमुनायोग्य रेस्टुरेन्ट भएको उल्लेख गर्नुभयो । कृतिम तथा कलात्मक ढंगले निर्माण गरिएको थ्रिडी आर्ट रेस्टुरेन्टले प्राकृतिक मनोरमका साथमा सेवा प्रदान गरि ग्राहकको रोजाईको बन्नु पर्नेमा जोड दिँदै उहाँले सञ्चालकले रेष्टुरेन्टबाट भएको नाफाको केही प्रतिशत सामाजिक कार्यमा सहयोग गर्ने घोषणा गर्नु उत्कृष्ट कार्य भएको उल्लेख गर्नुभयो ।

 

व्यवसायलाई नाफामुखी मात्र नभई देश प्रति ओतप्रोत भएको उल्लेख गर्दै उहाँले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई प्रचार प्रसार समेत गरेकोमा खुसी व्यक्त गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग हुने प्रतिवद्धता जनाउनुभयो । उहाँले युवा जोस जाँगरलाई सम्मान गर्दै देशभर शाखाहरु सञ्चालन गरी सेवा विस्तार गर्न आग्रह गर्नुभयो ।