भक्तपुर, १० पौष । क्षयरोगको औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका विरामी औषधि अभावमा समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका विरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका विरामीको औषधि नपाएपछि ज्यान जोखिममा परेको छ ।
क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा सुरु भएको नौ महिने छोटो उपचार बिधिमा विरामीले नौ महिना आवश्यक औषधि सेवन गरि ४ देखि ६ महिनासम्म सुई लिनुपर्ने हुन्छ । क्षयरोगका विरामीले सेवन गर्ने सामान्य औषधिले काम नगरेपछि विरामीका लागि चलाईने बहुऔषधि प्रतिरोधी (एमडिआर)का विरामीका लागि प्रयोग हुँदै आएको ‘क्यानामाईसिल’ नामको औषधि नपाए पछि विरामीको ज्यान ज्यान जोखिममा परेको हो ।
काभ्रेका खोपासीबाट क्षयरोग केन्द्रमा आउनु भएका विरामी राजेन्द्र थापाले औषधि नपाएको गुनासो गर्नुभयो । दुईसातादेखि ‘क्यानामाईसिल’ नामको औषधि नपाएर उपचारमा समस्या परेको बताउदै उहाँले केन्द्रका प्रमुखलाई गुनासो गर्दा पनि सुनुवाई नभएको बताउनुभयो । ललितपुरको भैसीपाटीबाट उपचारमा आउनु भएका रामहरि काफ्लेले सरकारले सित्तैमा औषधि दिने भने पनि केन्द्रले औषधि दिन नसक्दा ज्यानै जाने हो कि भन्ने डर भएको बताउनुभयो ।
राष्ट्रिय क्षयरोग केन्द्रमा कार्यरत एक चिकित्सकका अनुसार ‘क्यानामाईसिल’ नामको औषधि नहुँदा क्षयरोगका विरामीलाई समस्या परेको छ । समय मै औषधि आपूर्ति गर्न केन्द्र गम्भिर नभएका केन्द्रका कर्मचारीको गुनासो छ ।
केन्द्रका एक चिकित्सकका अनुसार ‘क्यानामाईसिल’ नामको औषधि एक विरामीलाई साताको ६ वटाका दरले करिब ५ महिनासम्म १५० वटा दिईनुपर्छ । औषधि अभावले यो क्षयरोग विग्रिएमा एसडिआर हुने र विरामीको उपचारमा असम्भव हुने र विरामीको ज्यानै जानसक्छ । क्षयरोगको जटिल रोग लागेर औषधि सेवनबाट पनि निको नभएपछि बिकल्पको रुपमा विरामीलाई यो औषधि प्रयोग गरिन्छ ।
‘क्यानामाईसिल’ औषधि गत नोभेम्बरबाटै सकिएको र दामियन फाउण्डेसन बेल्जियमबाट ४ हजार पिस औषधि मगाए पनि ३२ सय पिस मात्रै आएको र यो १८ दिन मै सकिएपछि औषधि अभाव भएको हो ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले भने ‘क्यानामाईसिल’ नामक औषधि फेजआउट हुन लागेकाले औषधि नपाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो –“क्यानामाईसिल नामको औषधि विस्तारै फेजआउँट हुँदैछ, कम्पनीले उत्पादन नै कम गरेपछि औषधि नआएको हो, यसको सट्टामा केन्द्रले ‘एमिक्यासिन’ नामको औषधि मगाएका छौं, भारतबाट त्यो औषधि आउँदैछ, अब त्यही औषधि चलाउँछौ ।”
उहाँले ‘क्यानामाईसिल’ले विरामीमा राम्रो काम नगरेपछि अर्को औषधि मगाएको दाबी गर्दै अब नयाँ दर्ता हुने विरामीलाई ‘एमिक्यासिन’ नामको औषधि दिने बताउनुभयो । औषधि दिने सबै ठाउँमा यही सकुर्लर जारी गरेको बताउदै उहाँले कुनै पनि विरामी औषधिबाट बञ्चित नभएको दाबी गर्नुभयो ।
तत्काल १६ हजार औषधि चाहिने भएपनि पटक पटक माग गरेर ४ हजार देखि ५ हजारसम्म एक पटकमा औषधि आयात गरेको र अभाव हुन नदिएको केन्द्रका निर्देशक राजभण्डारीको दाबी छ । सरकारले क्षयरोगका विरामीका लागि निःशुल्क उपलब्ध गराउँदै आएको ‘क्यानामाईसिल’ औषधि एउटा ईन्जेक्सनको ३ डलर पर्ने केन्द्रको भनाई छ । यो औषधि नेपालका औषधि पसलहरुमा नपाईने भएकाले बाहिर किनेर समेत प्रयोग गर्न नपाएको विरामीको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्