Banner News

पुच्छरले टाउको हैन, टाउकोले पुच्छर हल्लाउने बनाउनुपर्छ : वरिष्ठ नेता खनाल



काठमाडौँ, १२ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको समृद्धिको लागि सरकारले पार्टी चलाउने नभई पार्टीले सरकार चाउनुपर्ने उल्लेख गर्दै पुच्छरले टाउको हल्लाउने नभई टाउकोले पुच्छर चलाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

शुक्रबार काठमाडौँमा विश्व ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा बोल्दै नेता खनालले पार्टीले सरकारलाई ठोस निर्देशन दिन नसकेको बताउनुभयो । सरकारले पार्टी सञ्चालन गर्ने काम भएमा उल्टो दिशामा अघि बढिने भन्दै उहाँले भन्नुभयो, ‘पार्टीले ठोस दिशा दिनुपर्यो । निर्देशन दिनुपर्यो । भिजन दिनुपर्यो । सरकार त्यही ढंगले सञ्चालित हुनुपर्यो । सरकारबाट पार्टी सञ्चालित हुने होइन । पार्टीबाट सरकार सञ्चालित हुनुपर्यो । टाउकोले पूच्छर हल्लाउनुपर्यो । पूच्छरले टाउको होइन । यदि पुच्छरले टाउको हल्लाउन थाल्यो भने हामी उल्टो दिशातर्फ जान्छौ । सरकारले पार्टी सञ्चालन गर्न थाल्यो भने उही उल्टो दिशामा जान्छौ ।’

पार्टी एकीकरणको सम्पूर्ण काम नसकिँदै पार्टीका संरचना विघटन गरेर नेतृत्वले अपराध गरेको आरोप लगाउँदै उहाँले माओवादीसँगको एकीकरणलगत्तै पार्टीका सम्पूर्ण संरचना विघटन गरेकाले संगठन विस्तार हुन नसकेको, ८ लाख बढी कार्यकर्ताहरु २० महिनामासम्म चुप लागेर बस्नुपरेको, गतिविधि हुन नसक्दा पार्टीभित्र धमिरा लाग्दै गएको दाबी गर्र्नुभयो ।

उहाँले भन्नुभयो, ‘खुसीको क्षणमा हामीले अर्को अपराध गर्यौ पार्टी विघटन गरेर । के जरुरी थियो विघटन गर्नु ? के जरुरी थियो पार्टीका सारा कमिटीहरु विघटन गर्नुपर्ने ? त्यो ब्लन्डर हो । तर त्यो ब्लन्डर भएकाले हामीले २० महिनासम्म चुपचाप बस्नुपर्यो । ८ लाख सदस्यहरु चुपचाप बस्नुपर्ने बाध्यता खडा भयो । क्रियाशील भएको भए पार्टीको क्रियाशीलता रहिरहन्थ्यो । पार्टी भित्र धमिरा लाग्ने थिएन । पार्टीभित्रै हिलो जम्ने थिएन । धुलो जम्ने थिएन । फोहर मैला जम्ने थिएन । निस्क्रियता धुलो मैलो जम्ने प्रक्रियाको अंग हुन्छ ।’