काठमाडौँ, १२ पौष । कोटेश्वर चोकको बाटो काट्न नपाई तानातान गर्न आउने लामो दुरीका हायस, टाटा सुमो, माइक्रो लगायतका टिकट काउण्टरका कर्मचारी, टिकट विक्रेता या दलालका कारण यात्रुहरुलाई अप्ठेरो पर्ने गरेको गुनासो बढ्न थालेपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरले त्यस भेगका टिकट काउन्टरहरुलाई व्यवस्थित गर्ने विषयमा छलफल शुरु गरेको छ ।
प्रभागले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर, सामुदायीक प्रहरी सेवा केन्द्र ३२ र यातायात टिकट काउण्टर व्यवस्थापन सम्पर्क समिति कोटेश्वरको संयुक्त आयोजनामा शुक्रबार कोटेश्वरमा सरोकारवाला टिकट काउण्टर सञ्चालक, यातायात व्यवसायी र यातायात मजदूरहरुलाई सहभागी गराई छलफल कार्यक्रम आयोजना गरियो ।
छलफल कार्यक्रममा टिकट काउण्टर सञ्चालक या मजदूरहरु एकै किसीमको पोशाक र परिचयपत्र सहित मर्यादित, सभ्य र अनुशासित हुनुपर्नेमा प्रहरी अधिकृत र यातायात व्यवसायी संघका पदाधिकारीहरुले जोड दिए ।
छलफल कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख, प्रहरी निरीक्षक सुभद्रा वाइवा लामाले पछिल्लो समयमा टिकट काउण्टरले राखेका मजदूर र टिकट विक्रेताबाट अधिकांश यात्रुहरु ठगिने गरेका, नक्कली टिकट विक्री गर्ने पाईएको र त्यस्ता काउण्टरबाट सञ्चालित गाडीचालकहरुले यात्रुहरुलाई गन्तव्यमा नभई विचैमा छोड्ने गरेको गुनासो बढ्न थालेपछि टिकट काउण्टर, यसका सञ्चालक र काउण्टरका मजदूरहरुलाई जिम्मेवारपूर्ण बनाउन छलफल कार्यक्रमको आयोजना गरिएको बताइन् ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले टिकट काउण्टरमा काम गर्ने कर्मचारीहरुको एकै किसीमको पोशाक लगाएर परिचयपत्र बोक्नु उनीहरुको दायीत्व र कर्तव्यमात्रै नभई यसले उनीहरुलाई अनुशासित रुपमा काम गर्न सघाउने बताए ।
यात्रुहरुप्रति राम्रो व्यवहार, मिठो र नरम बोली बोल्न सुझाउँदै महासचिव सिटौलाले कुनैपनि सवारी साधनमा धु्रमपानयुक्त स्टिकर नटाँस्न, छाडा खालका सन्देश नलेख्न, ठुलो स्वरमा भद्दा गीतहरु नबजाउन पनि निर्देशन दिए ।
त्यस अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकाल, महानगरीय प्रहरी परिसर काठमाडौंको समुदाय—प्रहरी साझेदारी कार्यक्रमका प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, अखिल नेपाल यातायात मजदूर संगठनको ३ नं प्रदेशक संयोजक दिपक केसी, मजदूर संगठनकै श्रीप्रसाद शिवाकोटी नरेफाँट प्रहरी प्रभाग निर्माण समितिका अध्यक्ष सार्कीमान लामा लगायतले काउण्टर व्यवशायलाई व्यवस्थित गर्न विभिन्न सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्