काठमाडौँ, १४ पौष । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ । यही पुस १६ गते काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ । त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ । तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा मार्चपास तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछन् । कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुन आग्रह गरिएको छ । मार्चपास तथा ¥यालीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ । तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो तीन बजे शुरु हुनेछ । भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकका गरी ४० भन्दा बढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता उद्घाटनको दिन रहने छ ।
प्रतिक्रिया दिनुहोस्