काठमाडौँ, २० पौष । ललितपुर सानेपाकी रितु (नाम परिवर्तन) ४ करोड २० लाखको चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा पुगिन् । करिब दुई साताअघि जग्गा कारोबार गर्दा दुवै पक्ष जिल्ला मालपोत कार्यालय ललितपुरमा गएका थिए । त्यहाँ सम्पति स्रोत खुलाई चेकमार्फत भुक्तानी गर्ने सहमति भयो । सोही अनुसार उमेश बस्नेतले उनलाई चेक हस्तान्तरण गरे ।
चेक हातमा परेको भोलिपल्ट उनी वाणिज्य बैंक पुगिन् । चेक दिने व्यक्तिको खातामा पैसा नभएपछि उनलाई शंका लाग्यो । ती व्यक्तिलाई फोन गर्दा स्विचअप थियो । त्यसपछि रितुलाई तनाव भयो । तीन दिनसम्म चेक बोकेर बैंक धाइरहिन् ।
बैंकका कर्मचारीले ‘हुँदैन, चेक बाउन्स छ’ भनिदिएपछि आफू ठगिएको महसुस गर्दै उनी प्रहरी गुहार्न टेकु पुगेकी थिइन् । ‘खातामा पैसा होला भनेर कारोबार गरियो, मालपोतमा चेकबाट पैसा दिने सहमति पनि भएको थियो तर तीनपटक बैंकमा साट्न जाँदा चेक दिने व्यक्तिको खातामा पैसै रहेनछ,’ उनले सुनाइन् । प्रहरीका अनुसार चेक बाउन्स कारोबार गर्ने व्यक्ति फरार छन् ।
अर्का एक व्यक्ति पनि त्यसैगरी बाउन्स चेकमा फसेको भन्दै फाइल बोकेर आइपुगे । उनको चार करोड १७ लाखको चेक बाउन्स थियो । जग्गा व्यवसायीले नै बाउन्स चेक दिएर ठगेको उजुरी प्रहरीमा दिएर उनी फर्किए । ‘मोटो रकम चेकमै कारोबार हुने भएकोले विश्वास गरेर चेक बोकियो, साट्न जाँदा खातामा पैसा रहेनछ,’ ती व्यक्तिले सुनाए ।परिसरमै भेटिएका विराटनगरका सुरेश बस्नेत पनि चेक बाउन्समा ठगिएका थिए । लुगा खरिद गर्दा विराटनगरकै व्यापारी मुकेश शाहले दिएको चेक बाउन्स भएपछि उनी उजुरी दिन परिसर आएका थिए । ‘मेरो मोबाइल पसल थियो,’ उनले भने, ‘त्यहीं कारोबार भयो, साट्न जाँदा खातामा पैसा थिएन ।’
चेक बाउन्समा ठगिएका यी उदाहरण हुन् । परिसरमा चेक बाउन्सका दैनिक २० वटा उजुरी पर्छन् । ती उजुरी १ लाखदेखि पाँच करोडसम्मका चेक बाउन्ससम्बन्धी छन् । परिसरको तथ्यांकअनुसार बैंकिङ कारोबारअन्तर्गत चेकमार्फत ठगी गर्नेको संख्या बढेको छ । साउनयता दुई हजार १ सय ८६ वटा चेक बाउन्स भएको उजुरी परिसरमा परेको छ । यसमध्ये चार करोडभन्दा माथिका ३ वटा, दुई करोडका ४ वटा छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्