Banner News

अन्तराष्ट्रिय सहयोगमा हामी नाई नास्ती गर्दैनौँ : मन्त्री पोखरेल



काठमाडौँ, २२ पौष । रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक सहयोग लिँदा राष्ट्रिय स्वार्थका लागि हित हुनेछ भने त्यसमा अवरोध गर्न नहुने बताएका छन् ।

आज राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको समावेशी विकास र सम्बृद्ध नेपाल विषयक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अन्तराष्ट्रिय विकास निर्माणको सहयोगमा नाई नास्ती नगर्ने बताएका हुन ।

उनले चिनियाँ सहयोग आउँदा यसमा चाइनिज बास्ना आयो भन्ने अमेरिकाबाट सहयोग आउँदा अमेरिका बास्ना आयो नभनी राष्ट्रिय स्वार्थका लागि सहयोग आउँछ भने जतासुकैबाट आएको सहयोग लिनुपर्ने बताए ।

उनले भने, ‘जापान र चीनको सम्बन्ध राम्रो नहुँदा नहुदै पनि चीनले सहयोग लिएको थियो । यहाँ हामी के गर्छौँ के गन्हाउछ भनेर बास लिएर बस्छौँ । हामी अमेरिकासँगको कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ । हामी अमेरिकी,बेलायती,भारतीयसँग आँखा आँखामा जुधाएर भन्छौँ, हामी कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ । हाम्रो राष्ट्रिय हित विकास निर्माणमा उनीहरुले सहयोग गर्छन् भने हामी नाई नास्ती गर्दैनौँ ।’

बैदेशिक सहयोग आउँदा यो हुन्छ कि हुँदैन भनेर सैद्धान्तिकरण गर्ने समस्या रहेको बताउँदै मन्त्री पोखरेलले संसदभित्र र बाहिर हुने छलफल राष्ट्रिय स्वार्थलाई हेरेर गर्नुपर्ने बताए ।