Banner News

प्रम ओली, अध्यक्ष प्रचण्ड र उपसभामुख तुम्बाहाम्फेबीच भेटवार्ता



काठमाडौँ, २५ पौष । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड तथा प्रतिनिधिसभाको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेबीच भेट वर्ता भएको छ ।

संसद सञ्चालन तथा सभामुखको निर्वाचनबारे उपसभामुख तुम्बाहाङ्फेले प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको हो । पटकपटक प्रतिनिधिसभाको बैठक स्थगित हुँदा राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले गतिरोध अन्त्य गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।

रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक सर्दै आएको छ । सत्तारुढ दल नेकपाले सभामुखको रिक्ततापछि आफ्नै पार्टीका तर्फबाट सभामुखमा उम्मेदवारी दिने भने पनि कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्नसकेको छैन । पार्टीभित्रै एकमत बनाउन नसक्दा यो अन्यौल कायम भएको हो ।

सत्तारुढ दल उपसभामुख तुम्बाहाङ्फेलाई समेत राजीनामा गर्न लगाएर उपसभामुखमा अन्य पार्टीलाई प्रस्ताव गर्ने पक्षमा छ । तर उपसभामुख तुम्बाहाङ्फे आफैँले पनि सभामुख पदका लागि दावी पेश गर्दै आउनुभएको छ ।