Banner News

‘एकीकरण मार्ग कार्यक्रम’ पर्यटनका निम्ति महत्वपूर्ण : मन्त्री पोखरेल



काठमाडौँ, ६ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले अघि सारेको ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

आइतबार नेपाली सेनाले मुख्यालयमा आयोजना गरेको एकीकरण मार्गसम्बन्धी तीन दिवसीय ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार’ को समापन समारोहमा बोल्दै मन्त्री पोखरेलले नेपाल राष्ट्र एकीकरणको सिलसिलामा प्रयोग भएको ऐतिहासिक सम्पदा र धरोहरलाई समेटेर निर्माण गरिने एकीकरण मार्गले सिङ्गो मुलुक र जनतालाई राष्ट्रिय एकताको भावना जगाउन अभिप्रेरित गर्ने बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा समाविष्ट एकीकरण मार्गको प्रभावकारी प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्ने गरी आगामी कार्यक्रम अघि बढाइने बताउदै उनले भने, ‘एकीकरण मार्ग प्रशस्त अवसर र दृढ आकांक्षासहितको सम्बोधन गर्न सकिने विषय समाहित एक बहुआयामिक कार्यक्रम हो । राष्ट्रिय सम्पदा संरक्षण र प्रवद्र्धनमा एकजुट भई राष्ट्रिय एकताको भावना जागृत गराउने यो कार्यक्रम विभाजन र विखण्डन गर्न खोज्ने तत्वलाई परास्त पार्ने एउटा दरिलो माध्यम पनि हुनसक्छ ।’