भक्तपुर, १३ माघ । रमेश गिरी । सूर्यविनायक नगरपालिका वडा नं ६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । भवनमा आजबाटै कार्यालय संचालन हुदैछ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीले सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय संचालनदेखि व्यारेकको बसाई समेत सहज हुने भएको छ ।
एकवर्षभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ नविन प्रजापतिको अध्यक्षतामा भवन निर्माण समिति र पूर्व ट्राफिक सिताराम हाछेथुको संयोजनमा भवन निर्माण सुरु भएको थियो । सूर्यविनायकको कटुञ्जेस्थित कित्ता नं. २३३३ रहेको कूल १३ आना जग्गामा करिब रु. १ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको समितिका अध्यक्ष प्रजापतिले जानकारी दिनुभयो ।
उक्त भवन निर्माण बिचमा रोकिए पछि भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिदै आएका ट्राफिक प्रहरी हवल्टार ईश्वरप्रसाद बन्जारा निरन्तर खटिएपछि भवन निर्माण सूचारु भई पूर्णता पाएको हो । ट्राफिक प्रहरी हाछेथेसंगै बसेर बग्गिखानाको ट्राफिक एफ.एम. रहेको भवन, सातदोबाटो प्रहरी बृत्तको भवनको निर्माण सम्पन्न गरेको अनुभव सम्हालेका बञ्जाराले स्थानीय व्यवसायी तथा दाताहरुको सहयोगमा भक्तपुरको ट्राफिक भवन निर्माण कार्य सम्पन्न गर्नु भएको हो ।
दुईतला आधा रहेको यो भवनमा ९ वटा कोठा, मेस, महिला व्यारोक, इन्चार्ज कक्ष, कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृत व्यारेक, प्रहरी हवल्दार र प्रहरी जवानको व्यारेक, सभा हल, प्रतिक्षालय, ६ वटा शौचालय सहितको भवन निर्माण सम्पन्न भएको ट्राफिक प्रहरी हवल्दार बञ्जाराले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि भक्तपुर नगरपालिका बाहेक जिल्लाका सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका एवं जिल्लाका व्यवासायीहरुबाट रु. ३९ लाख २७ हजार २५६ नगद संकलन भएको र व्यवसायी एवं दाताहरुबाट निर्माण सामाग्रीहरु संकलन गरि सरकारको लगानी बिना नै भवन निर्माण सम्पन्न भएको समितिका अध्यक्ष नविन प्रजापतिले जानकारी दिनुभयो । यसअघि भवन नहुँदा सल्लाघारीमा सुत्ने र खाने ठाउँको समेत अभावमा समस्याग्रस्त रुपमा भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीहरु नयाँ घरमा बस्न पाउने भएपछि खुसी भएको भवन निर्माण समितिका संयोजक हाछेतुले बताउनुभयो ।
भक्तपुर मै कार्यरत एक ट्राफिक प्रहरीले भने–“साँघुरो कोठामा ४० जना भन्दा बढी ट्राफिक कोचिएर सुत्नु पथ्र्यो, ट्यांङ्का र सामान मुनि कोच्नु पथ्र्यो, हाम्रै सामानको सुरक्षा थिएन, महिला ट्राफिक प्रहरीको लागि व्यारेक थिएन, कोठा खोज्दै हिड्नु पथ्र्यो, न गतिलो कार्यालय थियो, न नियन्त्रणमा लिएका सवारी साधन राख्ने ठाउँ नै थियो, अहिले भने हवल्दार बञ्जारा सरको मिहेनतले भवन बन्यो, आफ्नो भवन देख्दै आनन्द आउँछ ।”
भक्तपुरमा मात्रै नभई कमलविनायकमा बस्दै आएका ट्राफिक प्रहरीको अबस्था पनि उस्तै नाजुक भएको बताउदै दिनभरी ड्युटी गरेका ट्राफिकलाई कोठामा गएर आनन्दले सुत्त पनि समस्या हुने अबस्था व्यहोर्दै आएको कमलविनायकका ट्राफिकहरुको गुनासो छ । ट्राफिक प्रहरीको भक्तपुर जिल्ला कार्यालय भवन बनेपनि मध्यपुरथिमि क्षेत्रको कौशल्टार र पूर्वतर्फको कमलविनायकका ट्राफिक भने अझै पनि भाडाको घरमा बस्दै आएका छन् ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नुहुने भक्तपुर ट्राफिक भवनको तत्कालिन महानगरीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक हुदाँ खनालले नै २०७४ कात्तिक ३० गते शिलन्यास गर्नुभएको थियो ।
भक्तपुर मै यातायात सेवा केन्द्र तथा यातायात कार्यालयले भक्तपुरमा सेवा शुरु गरेर सवारी चालक अनुमति पत्र लिनका लागि राजश्व तिर्न सहज भएको बताउँदै समितिका अध्यक्ष प्रजापतिले अब ट्राफिकको यो भवन बनेकाले सवारी साधनको नामसारीलगायत जनताका लागि आवश्यक सम्पूर्ण सेवा यहीबाट सञ्चालन गर्नु पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्