भक्तपुर, २५ माघ । चाँगुनारायण नगरपालिकाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा राख्न नदिने भएको छ ।
शुक्रबारबाट सुरु भएको नगरपालिकाको छैटौँ नगरसभाले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै नगरपालिकाले सरकारलाई खरेपाटीको विकल्प खोज्न आग्रह गरेको छ ।
नगरसभाको पहिलो दिनको छलफलमा प्रवेश पाएको एक मात्रै एजेन्डा बनेको क्वारेन्टाइन राख्ने सरकारको निर्णयप्रति आलोचना गर्दै सभामा बोल्ने नेकपा, नेपाली कांग्रेस र नेमकिपाका जनप्रतिनिधि एवं नगरसभाका सदस्यहरुले सरकारको निर्णय सच्याउँदै विकल्प खोज्न माग गरेका थिए ।
नगरसभाको निर्णय सुनाउँदै नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो, “कोरोना भाइरसप्रति चिनियाँ सरकार र जनताले लडेको लडाइँमा हाम्रो ऐक्यबद्धता र सहानुभूति प्रकट गर्ने, नेपाल फर्कन चाहने चीनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग जोड्दार माग गर्ने र चाँगुनारायणको सदरमुकाम एवं घनाबस्ती रहेको खरिपाटीमा चीनबाट फर्काइएका नेपालीलाई राख्ने सरकारको निर्णयप्रति स्थानीय जनताको समेत विरोध आएकाले गम्भीर ध्यानाकर्षण गर्दै अन्यत्र विकल्प खोज्न सरकारसँग माग गर्दछ ।”
नगरपालिकाका उपप्रमुख विना बास्तोलाले नगरससरकारले राख्न लागेको क्वारेन्टाइन, चालू आ.ब. २०७६/०७७ को नीति तथा कार्यक्रमको समीक्षा लगायतको एजेण्डाहरु सभामा पेश गर्नुभएको थियो । सभा २७ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्