भक्तपुर, ७ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपाली शारीरिक र मानसिक रुपमा ठीक रहेको बताउँदै आगामी दिनमा कुनै थप समस्या आएमा सरकारको तर्फबाट गर्नुपर्ने कुनै पनि जिम्मेवारी गर्न जुनसुकै समय तयार रहेको उल्लेख गर्नुभएको छ ।
मंगलबार अनुगमनमा पुगेका मन्त्री ढकालले सरकारले चीनबाट उद्धार गरी नेपाल ल्याइएका विद्यार्थीहरुलाई चीनमा भययुक्त वातावरणमा असुरक्षा महसुस भए पनि नेपाल फर्किएपछि उनीहरुमा त्रास हराएको बताउनुभयो । सरकारले गरेको तयारीप्रति उद्धार गरिएका नेपाली सन्तुष्ट रहेको प्रतिक्रिया पाएको पनि मन्त्री ढकालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँको स्वच्छ वातावरणले पनि मनोबलमा राम्रो प्रभाव पारेको छ, थप केही समस्या छन् भने राज्यका तर्फबाट कोअर्डिनेसन गर्न तयार छौं ।’ मंगलबार मन्त्री ढकालसहितको टोलीलाई क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीले उद्धार गरिएका नेपालीको अवस्थाबारे जानकारी गराएको छ ।
क्वारेन्टाइनस्थलमा खटिएका चिकित्सक नेपाली सेनाका सेनानी डा। नवीन फुयाँलले चीनमा कोरोना भाइरसको त्रासमा रहेका नेपाली आफ्नै देशमा फर्किन पाएको र क्वारेन्टाइनमा दिइएको सुविधाका कारण अहिले सामान्य अवस्थामा रहेका बताउनुभयो । डा। फुयालले अहिलेसम्म चीनबाट फर्किएका विद्यार्थीहरुलाई उपचारको आवश्यकता नपरेको समत जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्