राजनीति

छानबिन समितिले यस्तो निकाल्यो रवीन्द्र चढेको हेलिकप्टर दुर्घटनाको कारण



काठमाडौँ, १३ फागुन । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम र हेलिकप्टरमा असन्तुलन रहेको छानबिन समितिको प्रतिवेदनले जनाएको छ ।

मन्त्रीसहित ७ जनाको ज्यान जानेगरी भएको सो ‘भिआइपी’ दुर्घटनाको छानबिन गर्न गठित समितिको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रकाशित गरेको छ ।

प्रतिवेदनका अनुसार एयर डाइनेस्टीको सो हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसममा पाइलटले सन्तुलन कायम नसक्नु रहेकाे देखिन्छ । पाथिभराको मन्दिर रहेको डाँडामा करिब ४५ मिनेट रोकिएको सो हेलिकप्टर खराब मौसमकै कारण हतारमै ‘टेकअफ’ गर्दा दुर्घटना भएको हुनसक्ने प्रतिवेदनको निष्कर्ष छ । हिउँ परिरहेको चिसो मौसममा इन्जिन स्टार्ट भएको एक मिनेटभित्रै हेलिकप्टर उडाइएको थियो, जबकि इन्जिन स्टार्ट भएको केहीवेरपछि मात्र उडानुपर्ने हुन्छ । उड्नासाथ शक्तिशाली हावा समेत चलेका कारण हेलिकप्टरले नियन्त्रण गुमाउन पुगेको प्रतिवेदनले देखाएको छ ।