राजनीति

पूर्वप्रधानमन्त्री ‘किसुनजी’को ९ औं स्मृति दिवस मनाइँदै



काठमाडौँ, २० फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को आज ९ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

वि.सं. १९८१ मा जन्मिएका भट्टराईले राणाशाही र पञ्चायतविरुद्ध अनवरत् संघर्षका क्रममा लामो समय जेल जीवन विताउनुभएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता भट्टराईले करिव २० वर्ष कांग्रेसको सभापति बनेर नेतृत्व दिनुभएको थियो । भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत हुनुभएको थियो ।

वि।सं। २००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री भई मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान दिन सफल हुनुभएको थियो ।

०५६ सालको आम निर्वाचनपछि पनि उहा प्रधानमन्त्री हुनुभएको थियो । २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख भएका उनी नेपाल पत्रकार महासंघको संस्थापक सभापति समेत हुनुभएको थियो । उहाँको सम्झनामा आज कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

‘सन्त’ नेताका नामले परिचित भट्टराईको वि.सं ०६७ साल फागुन २० गते निधन भएको थियो ।