विश्व

इटलीमा एकै दिन ३ सय ६८ जनाको ज्यान गयो



एजेन्सी, ३ चैत । युरोपमा कोभिड–१९ बाट इटालीमा गएको २४ घण्टामा थप ३ सय ६८ जनाको ज्यान गएको भने ३५ सय ९० जना नयाँ बिरामी थपिएका छन् ।

योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । २४ हजार ७ सय ४७ जनामा सङ्क्रमण भएको छ । २० हजार ६ सय ५ जना उपचार गराइरहेका छन् ।

स्पेनमा ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ भने ७ हजार ८ सय ४३ जनामा सङ्क्रमण भएको छ । फ्रान्समा १ सय २७ जनाको ज्यान गएको र ५ हजार ४ सय २३ जना सङ्क्रमित भएका बीबीसीले जनाएको छ । वेलायतमा पनि ३५ जनाको ज्यान जानुको साथै १३ सय ९१ जना सङ्क्रमित भएका छन् ।

जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, डेनमार्क, पोर्चुगल लगायतका देशमा पनि सङ्क्रमण बढिरहेको छ । युरोपका सबैजसो देशले कडा प्रतिबन्ध सुरु गरेका छन् । मानिसलाई काममा जान, खाना र औषधि किन्न बाहेक हिँडडुल रोकिएको छ ।

१ सय ५७ देशमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै १ लाख ७० हजार मानिस सङ्क्रमित भएका छन् भने ७६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । ६ हजार ५ सय जनाको ज्यान गैसकेको छ ।