Banner News

आर्थिक समृद्धिसहित नेपाललाई उच्च आय भएको मुलुकमा रुपान्तरण गर्नुपर्छ : प्रम ओली



काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिलाई सामाजिक न्याय र समानताको जगमा उभ्याइ नेपाललाई उच्च आय भएको मुलुकमा रुपान्तरण गरी समृद्ध नेपाल–सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा पूरा गर्न कोषले अहम् भूमिका खेल्ने अपेक्षा गर्नु भएको छ ।

कोषको ३० औं वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक लगानी कोषलाई आफ्नो मात्र विकास नगरी देशको विकासमा पनि योगदान पुर्याउन सुझाव दिनु भएको छ ।

प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा लेखिएको छ, ‘अबका दिनमा कोषले आफ्नो संस्थाको मात्र विकास नगरी देशको विकासका लागि पनि योगदान पुर्याउनुपर्छ ।’ देश आर्थिक समृद्धिको अभियानमा अग्रसर रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो बेला नागरिक लगानी कोषले बैंक तथा वित्तीय संस्थामा मात्रै आफ्नो लगानी केन्द्रित नगरी भौतिक पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा पनि लगानी गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

‘चालु आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा भएको कोषलाई आर्थिक प्रतिफल दिने परियोजना, वातावरणमैत्री आयोजना, प्रतिफलदायी भौतिक पूर्वाधार, खानेपानी, ऊर्जा, सिँचाइ, शिक्षालगायत परियोजनामा लगानी गर्नेछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री ओलीले भन्नु भएको छ ।