राजनीति

यसरी फुत्कायो ओम्‍नीले मेडिकल सामग्री खरिदको ठेक्का



काठमाडौँ, २३ चैत । ‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन । उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ ।’ यस्तै अभिव्यक्ति दिन्थे, तुलबहादुर सिंह (हरि) । कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउँदा उनै सिंह चरम विवादमा परे ।

सिंह अध्यक्ष रहेको ओम्नी समूहले करोडौं हिनामिना गरी महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो । त्यसमा विवाद देखिएपछि प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसल प्रालिसँगको खरिद सम्झौता खारेज ग¥यो । संकटका बेला त्यति ठूलो रकमको स्वास्थ्य सामग्री ल्याउने हिम्मत सिंह एक्लैले भने गरेका थिएनन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको योजनामा सिंहले स्वास्थ्य सामग्री ल्याउने अवसर पाएका थिए । उपप्रधानमन्त्री पोखरेल, स्वास्थ्यमन्त्री ढकाल र सल्लाहकार रिमालसँग सिंहलाई निकट बनाउने काम झापाका युवराज शर्माले गरे ।

शर्मा शैक्षिक व्यापारी हुन् । उनले लामो समयदेखि काठमाडाैंमा शैक्षिक संस्था सञ्चालन गर्दै आएका छन् । त्यसबाट उँभो नलाग्ने देखेपछि शर्माले आफूलाई प्रधानमन्त्रीनिटक भएको देखाएर बिचौलियाका रूपमा काम गर्न थाले । उनकै कनेक्सनले चीनबाट स्वास्थ्य सामग्री ल्याउने काम ओम्नीले पाएको स्रोतले बताएको छ ।

ओम्नीले ठेक्कापट्टाको काम गर्दै आएको थियो । उक्त कम्पनीले स्वास्थ्य सामग्रीसम्बन्धी बिचौलियाको काम भने कहिल्यै गरेको थिएन । त्यही भएर सिंहलगायतको टोलीले स्वास्थ्य सामग्रीको ठेक्कापट्टा गर्दै आएका व्यापारी विशाल पण्डितको सहयोग लिए । पण्डित र केही चिकित्सक बसेर सूची बनाए । त्यही आधारमा ओम्नीले चीनबाट स्वास्थ्य सामग्री ल्यायो । खरिद प्रक्रियाबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

सामान्य आर्थिक अवस्थामा रहेका सिंहले सरकारी ठेक्कापट्टाबाटै आफ्नो आर्थिक हैसियत बदले। सरकारी ठेक्कापट्टाबाटै सिंहले केही सरकारी कर्मचारीको आर्थिक हैसियतसमेत बदलिदिएको उनी निकटवर्ती बताउँछन् । प्रत्येक दलका प्रभावशाली नेता र उपल्लो तहका सरकारी कर्मचारीसँग सिंहको बलियो सम्बन्ध छ ।

उनी शक्तिशाली नेता र सरकारी कर्मचारीलाई मुठ्ठीमा राख्नुपर्छ भन्ने मान्यता राख्छन् । नेता र कर्मचारीलाई मुठ्ठीमा राख्ने उनको उपाय भनेको आर्थिक सहयोग नै हो भन्छन् सिंहलाई चिन्नेहरू । मुख्यसचिव लोकदर्शन रेग्मीसँग सिंह असाध्यै निकट छन् । गृहसचिव रहँदा रेग्मी र सिंहको सम्बन्ध बाक्लिएको स्रोतले बताएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।