Banner News

स्वास्थ्य सामग्री खरिदबारे अनुसन्धान र छानबिनको क्रममा छु : प्रम ओली



काठमाडौँ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि स्वास्थ्य सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।

स्वास्थ्य सेवा विभागले ओम्‍नी समूहसँग नाटकीय रुपमा रातारात स्वास्थ्य सामग्री खरिद गरेको थियो । सम्झौताको पारदर्शिता र खरिद मूल्यमा विवाद देखिएपछि अचानक ठेक्का रद्द भएको थियो । यही विषयमा मंगलबार पार्टी सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा विभागका डीजी (महानिर्देशक) स्तरमा भएको सम्झौताबारे आफू अनभिज्ञ रहेको दाबी गरेको सचिवालयका एक सदस्यले बताए ।

बैठकमा नेताहरुले सामग्री खरिदसम्बन्धी विवादास्पद सम्झौताबारे स्पष्ट गर्न माग गरेका थिए । उनका अनुसार प्रधानमन्त्रीले मन्त्री र सचिवसमेत यसबारे जानकार नरहेको र विशुद्ध महानिर्देशक आफैंले निर्णय लिएको सुनाएका थिए । ‘सम्झौता गरेको पनि मलाई थाहा थिएन, रद्द गरेको पनि थाहा थिएन । यो स्वास्थ्य सेवा विभागका महानिर्देशकले नै गरेका हुन् । कानुनीरुपले महानिर्देशकलाई त्यो अधिकार छ । यसबारे मन्त्री, सचिव कसैलाई थाहा छैन । झन् मलाई कुनै जानकारी छैन,’ बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उद्धृत गर्दै सचिवालयका ती सदस्यले भने, ‘अनियमितता भएको के हो, अरु के के भएको हो त्यो बारेमा म आफैं अनुसन्धान र छानबिनको क्रममा छु ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।