भक्तपुर, ३ वैशाख । विकास र समृद्धिको यात्रामा दैनिक एक कदम अघि बढेको मात्र नभई दैनिक रुपमा दैडिएको भक्तपुरमा मुख्य दुई वटा पर्यटकीय गन्तव्यको रुपमा रहेका फुट ट्रायल र उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भई उद्घाटनको चरणमा पुगेका छन् ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ र १० लाई जोड्ने केन्द्रको रुपमा उपत्यकाकै सवैभन्दा करिव २०० मिटर लामो झोलुङ्गे पुल तथा चाँगुनारायण नगरपालिका वडा नं. ६, ७ र ८ वडा पर्ने मोहन पोखरी, बोजेनी, महादेव पोखरी, नगरकोट जाने करिव चार किलोमिटर रहेको फुट ट्रायलको निर्माण करिव सम्पन्न भएका छन् ।
संघिय सरकारबाट करिव एक करोड लागतमा झोलुङ्गे पुल तथा तीन करोड ७६ लाखको लागतमा फुट ट्रायलको निर्माण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा निर्माण भएका हुन् । यी दुई भक्तपुरको आर्थिक तथा पर्यटकीय विकासको मेरुदण्डको रुपमा रहेका आयोजनाहरु हुन् । निर्माण करिव सम्पन्न भइसके पनि दुवै आयोजनाहरु उद्घाटनको अन्तिम चरणमा रहेको तर विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण रोकिएका छन् ।
सूर्यविनायक तथा चाँगुनारायण नगरपालिकाले नगरको समृद्धिको आधार नै धार्मिक पर्यटन भएको उल्लेख गरेको र सोही अनुसार नगरपालिका अघि बढेका छन् । भक्तपुरको समृद्धिको आधार नै पर्यटन भएकाले पर्यटकीय क्षेत्रलाई व्यवस्थीत तथा प्रभावकारी ढंगले योजनाबद्ध रुपमा अघि बढाई पर्यटनको क्षेत्रबाट आर्थिक वृद्धिदरलाई उच्च बनाउने मात्र नभई वातावरण स्वच्छता, असंख्य रोजगारीको सिर्जना, मानिसको स्वास्थ्यका क्षेत्रमा समेत विशेष सकारात्मक भूमिकाको निर्वाह हुने सांसद बस्नेत बताउनुहुन्छ ।
भक्तपुरका कुनै पनि ठाउँलाई विगतका नेतृत्वले विकासमा फोहोरका रुपमा हेरे पनि आगामी दिनमा भक्तपुरका जुनसुकै ठाउँ मोहरको रुपमा विकास हुने बताउँदै नेपालकै सवैभन्दा मनमोहक जिल्लाको रुपमा परिचित गराउने स्पष्ट योजनाहरुका साथ अघि बढेको जानकारी गराउनुभयो ।
उपत्यकाकै लामो झोलुङ्गे पुलको निर्माण भएसँगै आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिकलागयतका नगरपालिकाको विकास र समृद्धिको महत्वपूर्ण आधार तथा मेरुदण्डको रुपमा नीति तथा कार्यक्रममा अघि सारिएको पर्यटनको विकास र प्रवद्र्धनले नगरपालिकाको मुहार फेरिने नगरप्रमुख बाशुदेव थापाले उल्लेख गर्दै आउनुभएको छ ।
सूर्यविनायक ९ र १० को संगम स्थलमा निर्माण गरिएको झोलुङ्गे पुलले वडाको भुगोललाई जोड्ने मात्र नभई पर्यटकीय स्थलहरु डोलेश्वर, आशापुरी, काँक्रावारी, कैलाशनाथ महादेवल, घ्याम्पेडाँडा, रानीकोटगातका क्षेत्रहरुले समेत प्रत्यक्ष रुपमा पर्यटकलाई जोड्ने सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र राज केसीले बताउनुहुन्छ ।
झोलुङ्गे पुल सञ्चालनमा आएसँगै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको कैलाश महादेवको दर्शनको साथ साथै पुलबाट उपत्यकाका मनोरम दृष्यको अवलोकन, विभिन्न हिमालहरुको अवलोकनलगायतका लागि पर्यटकको रोजाईमा पर्ने वडाध्यक्ष केसीले बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको रुपमा मात्र नभई रोजगारी तथा आयस्रोको मुख्य आधार समेत हुने स्पष्ट पार्नुभयो ।
फुट ट्रायलको निर्माणले चाँगुनारायण नगरपालिकाको आर्थिक, मानिसको स्वास्थ्य तथा वातावरणको स्वच्छतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै चाँगुनारायण नगरपालिकाको विकास र समृद्धिको एक महत्वपूर्ण आधार तयार हुने नगर प्रमुख सोमप्रसाद मिश्रले विगतदेखी नै उल्लेख गर्दै आउनुभएको छ ।
त्यस्तै चागुनारायण नगरपालिका वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटाले तीन वटा वडाको जंगली क्षेत्रमा निर्माण गरिएको फुट ट्रायलमा मानिस तथा पर्यटकले पैदल यात्रा गर्ने भएकाले स्वास्थ्यलाई विशेष फाईदा हुने दावी गर्नुभयो । करिव ४ किलोमिटर दुरी रहेको उक्त फुट ट्रायल रहेको जानकारी गराउँदै अध्यक्ष सापकोटाले स्वच्छ वातावरणमा उक्त दुरी पार गर्न करिव दुई घण्टा लाग्ने बताउनुभयो ।
नगरपालिकाको नयाँ पर्यटकीय गन्तव्यको रुपमा उक्त क्षेत्र रहेको बताउँदै अध्यक्ष सापकोटाले भ्रमण वर्ष २०२० लाई लक्ष्यीत गरी उक्त फुट ट्रायल निर्माण गरिएको जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्