राजनीति

संविधान संशोधन तत्काल नहुने



काठमाडौँ, १४ जेठ । नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संविधान संशोधन तत्काल नहुने भएको छ ।

मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने भएको हो । बैठकमा संविधान संशोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गर्नुभएको थियो ।

जवाफमा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने भएकाले केही दिनको समय दिन आग्रह गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै बैठकमा जनता समाजवादी दलका नेता महन्थ ठाकुरले संविधान संशोधन गर्दा आफ्ना मागहरु पनि समेट्न आग्रह गरेका थिए । बैठकमार्फत सरकारले निशाना छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरेको हो । सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका अरु मागका विषयमा छलफल हुँदै जाने भन्दै अहिले निशान छाप सर्वसम्मत रुपमा संशाोधन गर्नुपर्ने बताउदै हालै भारतीय मिडियामा पूर्वसैनिक अधिकृत बक्सीले दिएको अभिव्यक्ति गम्भिर रहेको बताउनुभयो। बक्सीले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर भारतले ठूलो मूल्य चुकाइरहेको बताएका थिए । प्रचण्डले बैठकमा उनको भनाइ गम्भिर रहेको भन्दै आपत्ति जनाउनुभयो ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, डा।बावुराम भट्टाई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति रहेको छ । त्यसैगरी, नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका नेताहरू सहभागि हुनुहुन्थ्यो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ । सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्मा दर्ता गरेको छ ।