राजनीति

विर्तामोडमा आइतबार रातिदेखि लकडाउन



झापा, १८ साउन । विर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेदेखि फेरि लकडाउन गर्ने निर्णय गरेको छ ।

नगर प्रहरी, कर्चमारी र सुरक्षाकर्मीमा संक्रमण देखिएकाले जोखिम बढेको भन्दै लकडाउन गर्ने निर्णय भएको मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार संक्रमण देखिएपछि ट्रेसिङ गर्न सजिलो होस् भनेर मानिसहरूलाई घरमै बसाउन लकडाउन गर्ने भनिएको हो । यो लकडाउन अर्को सूचना जारी नभइञ्जेल लागू हुन्छ ।

मयेर शिवाकोटीले थप १ सय ७० जनाको परीक्षण गर्न पठाइएको जनाए । लकडाउन भएसँगै अब नगरपालिकाभित्र अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछ ।

विर्तामोड भएर गुड्ने लामो दूरीका सवारी साधनलाई पनि नगरभित्र रोक्न निषेध गरिएको छ । उनका अनुसार भद्रपुर र काँकडभिट्टाबाट काठमाडौं, धरान जाने गाडीले हाम्रो नगरभित्र रोक्न पाउँदैनन् । यदि विर्तामोडकै मान्छे ओरोल्न छ भने पनि मुक्ति चोकमा मात्र ओरोल्न पाइन्छ ।’