तुलसीपुर, २२ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले केही गरेन भनेर गलत प्रचार गरिएको बताउनुभएको छ ।
दाङ लमहीस्थित नर्ती खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले हरेक क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै जनस्तरबाट पनि सरकारका कामको स्वागत हुनुपर्ने बताउनुभयो ।
प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले खानेपानीका लागि संरचना बनाएर मात्रै नपुग्ने भन्दै पानीको स्रोत संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गर्नुभयो ।
दाङ पानीको स्रोत कम भएको जिल्लाका रुपमा रहेको भन्दै उहाँले जलासय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्