काठमाडौँ, २ असोज । संसदीय महिला तथा सामाजिक समितिले नक्सालस्थित अनाथ बालबालिकालाई आश्रय दिँदै आएको नेपाल बाल संगठन (बालमन्दिर)को विहिवार छड्के अनुगमन गरेको छ ।
२०७२ सालको भुकम्पले ठूलो क्षती पुगेको बालन्दिरको वर्तमान अवस्था दयनिय रहेको छ । जहाँ कार्यालय सञ्चालन गर्न समेत समस्या रहेको छ । भवन पूनःनिर्माणको क्रममा रहेको छ । जसले गर्दा पदाधिकारीहहरुको कार्यालय कक्ष समेत व्यवस्थित छैन । कार्यालय आफ्नै झोलामा वोकेर हिड्नुपर्ने बाध्यता रहेको छ । नयाँ कार्यसमिति गठनप्रति रुष्ट बनेको रिता सिंह नेतृत्वले अदालतमा मुद्दा दायर गरेपछि उनीहरुले कामकाज गर्न पाएका थिएनन् । तर साउन ३० मा सर्वोच्च अदालतले कामकाजको बाटो खुलाइदिए पनि नयाँ समितिले एक महिनामा आफ्नो कार्यालयसमेत व्यवस्थापन गर्न सकेको छैन । जसका कारण कार्यालय झोलाबाटै चलेको छ ।
बालमन्दिरको वर्तमान अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै समितिले अनगुमन गरेको हो । अनुगमनका क्रममा सभापनि निरुदेवी पालले बालमन्दिरको द्रुत व्यवस्थापनमा लाग्न पदाधिकारीहरुलाई निर्देशन दिँदै कार्यकक्ष र अभिलेखीकरणलाई जतिसक्दो चाँडो व्यवस्थापन गर्न र बालमन्दिरमा हुने गरेका गलत गतिविधिलाई तत्काल रोकी व्यवस्थित तथा प्रभावकारी ढंगले अगाडी बढ्न निर्देशन दिनुभयो । उहाँले त्यस्ता गलत गतिविधिहरु नरोके कानुनी उपचार खोज्ने समेत चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बालबालिकाको खानामा कमिसन खाने, नक्कली कागजात बनाएर बालगृहहरुलाई बच्चा दिने, कानुनसम्मत जग्गा लिजमा नदिनेजस्ता गलत कार्यहरु भए गरेका हामीले पाएका छौं, नयाँ कार्यसमितिले यस्ता कार्यहरु नदोहोर्याओस् ।’
सांसद लक्ष्मी परियारले हिजोको ‘च्याप्टर’ लाई बन्द गरेर बालमन्दिरको गुणात्मक विकासमा लाग्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक आरोप–प्रत्यारोप त्यागेर काम गर्न आग्रह गर्नुभयो । अहिलेको बालमन्दिरको हालतले आफूलाई पनि दुखित तुल्याएको बताउँदै अध्यक्ष विद्या न्यौपानेले बालबालिकाको हेरचाहदेखि भौतिक संरचनाको विकासमा जोड दिने प्रतिबद्धता जनाउनुभयो । काम गर्न थालेको एक महिना मात्रै भएको र पुरानै कार्यसमिति रहँदाको अस्तव्यस्त र अलपत्र अवस्थाले गर्दा समस्या भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीलाई पुरानो कार्यसमितिबाट जिम्मेवारी तथा कागजातहरु हस्तान्तरण नभएकाले काममा केही बाधा भएका छन्, यद्यपि देखिनेगरी काम गर्न सबै पदाधिकारी रातदिन खटिरहेका छौं । अघिल्लो कार्यसमितिले बृहस्पतिलाई आगामी ५४ वर्षसम्म अर्थात् वि।सं। २१३१ सम्मका लागि लिजमा दिएको रहेछ । वर्तमान कार्यसमितिले उक्त सम्झौता रद्द गरि जग्गा फिर्ता गर्नेलगायतका लक्ष्य राखेको छ ।’
काठमाडौँको टेकुमा ३५ सटर, कञ्चनपुरमा ५८ सटर गरी विभिन्न ठाउँमा व्यापारिक प्रयोजनमा प्रयोग भैरहेको तर बाल मन्दिरलाई आम्दानी नभएको मन्दिरका कोषध्यक्ष रामजी समपकोटाले जनाकारी दिनुभयो । वृहस्पति विद्यासदनबाट २९ रोपनी लिज बापत मासिक ७ लाख रुपैयाँ प्राप्त हुने रकम मात्रै बालमन्दिरको आयस्रोत रहेको जानकारी गराउँदै कोषध्यक्ष समपकोटाले अनुसार ५५ जिल्लामा बाल मन्दिर विद्यालय सञ्चालनमा रहेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको, विभिन्न जिल्लामा सटरहरु सञ्चालनमा रहेको, त्यसको आम्दानी बाल मन्दिरमा नदेखिएको बताउनुभयो ।
झन्डै तीन दशकदेखि संगठनको अध्यक्ष रहेकी रिता सिंह ९वैद्य० नेतृत्वको कार्यसमितिमाथि सरकारले पारदर्शिताको प्रश्न उठाउँदै पुरानो समिति भंग गरी साउन १६ मा न्यौपानेसहित सात जनालाई नियुक्ति दिएको थियो ।
समितिले गरेको दोस्रो पटकको अनुगमनका क्रममा पूर्वमहिला, वालवालिका तथा जेष्ठ नागरिकमन्त्री थममायाँ थापा, अमृता थापामगरलगायतका समितिका सदस्य, कर्मचारी, बालन्दिरका महासचिव समिक बडाललगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्