राजनीति

नीति धेरै बने, अब एक्सनमा कामः सांसद पहारी



पोखरा, १२ असोज । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले पर्यटन प्रवद्र्धन र विकासको लागि नीति तथा पोलिसी धेरै बनिसकेको उल्लेख गर्दै अबका दिनमा बनेको नीति तथा पोलिसीलाई एक्सनमा उतारी कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

आइतवार ४१औं विश्व पर्यटन दिवशको अवसरमा टान पोखराद्वारा आयोजित फेवाताल वरीपरी अवलोकन कार्यक्रममा बोल्दै सांसद पहारीले पोखरा तथा गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यलाई चलायमान, विकसित र परिस्कृत बनाउन हवाई तथा सडक सञ्जाललाई समेत सरकारले व्यापक मात्रामा कामहरु अगाडी बढाइरहेको उल्लेख गर्नुभयो ।

नेपालको मात्र नभई विश्वकै पर्यटकीय नगरीको रुपमा परिचित रहेको गण्डकी प्रदेशको राजधानी पोखरालाई प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाको पहलमा पर्यटन क्षेत्रमा परेको समस्या समाधान तथा पुनः चलायमान बनाउन आफैले नेतृत्व गरी राष्ट्र बैंक मौद्रीक नीति जारी गराउनु सफल भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री गुरुङले समेत पटक-पटक आफैले पहल तथा पर्यटन व्यवसायीसँगै छलफल गरी प्रदेश सरकारले समेत गम्भिरताका साथ विकल्पका खोजीहरु गर्न लागिरहेको उल्लेख गर्दै उहाँले मौद्रीक नीतिका कारण पर्यटन व्यसायीको समस्या टरेको नभई केही समयको लागि भए पनि केही पर सरेको बताउनुभयो ।

फेवाताल संरक्षणमा मुख्यमन्त्री, सांसद तथा महानगरपालिकाको पहलमा धेरै कामहरु भइरहेको बताउँदै उहाँले प्रत्येक वर्ष बालुवा तथा माटोले पुरीने कार्यलाई रोकिएको जानकारी गराउँदै पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न थप ग्रामिण पर्यटन प्रवद्र्धनका कार्यहरु समेत भइरहेको बताउनुभयो । खहरे खोलामा साढे सात करोडको लागतमा पक्की पुल बन्ने क्रममा रहेको बताउँदै उहाँले आन्तरिक तथा वाह्य पर्यटकको लागि सडक तथा हवाई यातायातलाई उच्च प्राथमिकतामा राखेको समेत उहाँले दावी गर्नुभयो । आन्तरिक तथा वाह्य पर्यटकको आवागमनले गण्डकी प्रदेशका मात्र नभई मुलुकको नै आर्थिक वृद्धिदरको मेरुदण्डको रुपमा गण्डकी प्रदेश रहेको स्पष्ट पार्नुभयो ।

फेवाताल संरक्षणको काम एक्सनमै हुनेमा विश्वास व्यक्त गर्दै उहाँले फेवाताल संरक्षण तथा सम्बद्र्धनको लागि पोखरा महानगरपालिकाले डिपिआर तयार गरी मुख्यमन्त्रीलाई समेत बुझाईसकेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘तत्तकाल वाह्य पर्यटक पोखरा तथा गण्डकी प्रदेशमा ल्याउने सम्भावना नभएता पनि आन्तरिक पर्यटकलाको बसाईलाई कसरी लम्ब्याउने ? भन्ने विषयमा सरकारले कार्ययोजना बनाई अगाडी वढ्नुपर्छ । ४२औं पर्यटन वर्ष रत्न मन्दिर र हिमा गृहमा मनाउने गरी कार्य गर्न सरकारसँग आग्रह समेत गर्दछु ।’

पोखरामा आएका पर्यटकलाई आकर्षक र मनोराम स्थालहरुको निर्माणलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले पर्यटकको बसाईलाई लम्ब्याउने प्रकारका योजनाहरुलाई व्यापकमात्रामा बढाउनुपर्ने बताउनुभयो । उहाँले पर्यकटलाई आकर्षण गर्न फेवातालको वरिपरी पुट ट्रायल बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।