राजनीति

लघु तथा साना जलविद्युतमा आधारित मिनीग्रिड आयोजना निर्माणको लागि सम्झौता



काठमाडौँ, २ कार्तिक । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रशारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एक आपसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन् । कर्णाली प्रदेशको जुम्ला जिल्लाको विभिन्न ७ वटा लघु तथा साना जलविद्युत आयोजनाहरुलाई एक आपसमा जडान गरी मिनीग्रिड निर्माणको लागि विस्तृत सम्भावयता अध्ययन गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच आज मिति २०७७ कार्तिक २ गते सम्झौता भएको हो ।

सम्झौतामा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुधन अधिकारी र नेपाल विद्युत प्राधिकरण इञ्जिनियरिङ्ग कम्पनी (एन.इ.ए. इञ्जिनियरिङ्ग कम्पनी लिमिटेड)को तर्फबाट उक्त कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर तथा नेपाल विद्युत प्राधिकरणको डेपुटी म्यानेजिङ्ग डाइरेक्टर हितेन्द्र देव शाक्यले हस्ताक्षर गर्नुभएको छ । उक्त मिनीग्रिड परियोजनाको इञ्जिनियरिङ्ग डिजाइन लगायतको विस्तृत सम्भाव्यता अध्ययन एन.इ.ए. इञ्जिनियरिङ्ग कम्पनी लिमिटेडले गर्नेछ भने सो को लागि आर्थिक सहयोग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गर्नेछ ।

सो परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा सम्पन्न ६ वटा आयोजनाहरु तथा नेपाल विद्युत प्राधिकरणको सहयोगमा सम्पन्न १ वटा गरी ७ वटा आयोजनालाई मिनीग्रिडमा जडान गरी सो मिनीग्रिडलाई राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । सदरमुकाम स्थित चन्नदननाथ नगरपालिकामा रहेको २०० किलोवाट क्षमताको घुघुजी साना जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहयोगमा निर्माण भएको हो भने बाँकी आयोजना केन्द्रको सहयोगमा निर्माण भएको हो । मिनीग्रिड आयोजनाको क्षमता १.६२४ मेगावाट रहेको छ ।