राजनीति

राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउँछ : अध्यक्ष थापा



काठमाडौँ, ५ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको उल्लेख गर्दै देशव्यापी जनजागरण चलाउने बताउनुभएको छ ।

भ्रातृ संगठनहरूको संयुक्त बैठकलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष थापाले सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने बताउनुभयो । नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको थलो बनाइने खतरा बढेको उहाँले बताउनुभयो ।

पार्टीलाई ठूलो बनाउने नाममा गणतन्त्र बोकेका लगायतलाई राप्रपामा भित्र्याएपछि पछिल्लो समयमा राजसंस्था पुनस्स्थापनाको मुद्दालाई मात्र अगाडि सारेर हिन्दु राष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई समेत ओझेल पार्ने काम भएकोले उउहाँले बताउनुभयो । त्यही कारण राप्रपा नेपाललाई ब्यूँताउन बाध्य भएको बताउँदै थापाले अब राप्रपा नेपालले रणनीतिक रूपमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर अघि बढ्ने धारणा राख्नुभयो ।

राप्रपा नेपालले फागुन ७ गते राष्ट्रिय सभागृहमा पार्टीको औपचारिक घोषणा सभा राखेको छ । घोषणा सभालगत्तै देशव्यापी संगठन निर्माणमा जुट्दै स्थानीय निर्वाचनको तयारीमा लाग्ने राप्रपा नेपालले जनाएको छ ।