राजनीति

कुरा मिलेन भने गठबन्धन चल्दैन: महामन्त्री थापा



काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताउनुभएको छ ।

शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री तथा प्रतिनिधिसभाका सांसद थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताउनुभयो । तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उहाँले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन । कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन । यो अहिले राष्ट्रघाति छ, चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’