राजनीति

जनअपेक्षाअनुसारको काम गर्न अझै सकिएन: मुख्यमन्त्री पाण्डे



वाग्मती, ७ फागुन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक सङ्क्रमणकाल समाप्त भएको बताएका छन् ।

७२ औँ प्रजातन्त्र दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त प्रजातन्त्रलाई थप सुरक्षित र व्यवस्थित गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताए । मुलुकमा विभिन्न समयमा भएको क्रान्तिपश्चात् पुरानो संरचना बदलिएर नयाँ संरचना स्थापना भए पनि जनअपेक्षाअनुसारको काम गर्न अझै नसकिएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने, “यो सरकार अब नयाँ ढङ्गबाट जनहितका काम गर्न दत्तचित्तले लागिपरेको र त्यसका लागि न्यूनतम साझा कार्यक्रमसमेत तय गरिएको छ ।”

अझै पनि देशले आर्थिक सामाजिक क्षेत्रमा गति लिन नसकेको, सामाजिक सुधार पनि राम्रोसँग गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उनले राजनीतिकर्मीले भोट नपाइएला कि भन्ने डरले सही कुरा बोल्न डराउन नहुने सुझाव दिए । रासस