राजनीति

एमसीसी टेबल गर्न दिने-नदिने कुनै निर्णय गरेका छैनौँ : पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ, ७ फागुन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी सम्झौता संसदमा टेवल गर्न दिने वा नदिने भन्ने बारेमा कुनै निर्णय नभएको बताउनुभएको छ ।

बैठकपछि नेकपा समाजवादीका नेताहरूले एमसीसी सम्झौता टेबल गर्न र संसद्मा छलफल गर्न दिने निर्णय गरेको बताउनुभएको छ थियो । तर नेता खनालले भने टेबल गर्न दिने निर्णय नभएको भन्दै खण्डन गर्नुभयो । बैठकले संशोधनविना नस्वीकार्ने सर्वसम्मत निर्णय भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीले एमसीसी सम्झौता टेबल गर्न दिने या नदिने भन्ने कुनै निर्णय नगरेको दाबी गर्नुभयो । उहाँले त्यसबाहेकका प्रक्रिया र निर्णयका बारेमा गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर जाने निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज बसेको स्थायी कमिटी बैठकको ठोस निर्णय भनेकै एमसीसी सम्झौता विना संशोधन स्वीकार नगर्ने भन्ने हो । एक मतले यथास्थितिमा एमसीसी नस्वीकार्ने भन्ने नै हो, टेबल गर्न दिने नदिने आदि केही पनि निर्णय भएकै छैन । बाँकी कुरामा हामी मात्रै छैनौ, गठबन्धनमा पाँच दल छौ, यो पाँच दलको बीचमा छलफल गरेर के गर्ने र त्यसको प्रक्रिया के हुने भन्ने टुंगोमा पुग्छौ भनेका हौ ।’

यसअघि नेकपा एकीकृत समाजवादीकी मन्त्री समेत रहेकी सचिव रामकुमारी झाँक्रीले एमसीसी सम्झौता संसद्मा छलफल गर्नका लागि पार्टीले टेबल गर्न दिने निर्णय गरेको जानकारी दिुनभएको थियो । त्यस्तै बैठकपछि पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि एमसीसी सम्झौता टेबल गर्ने विषयमा आपत्ति नरहे पनि दलहरूको सहमतिमा मात्रै टेबल गर्न सकिने धारणा राख्नुभएको थियो ।