राजनीति

सरकारलाई ओलीको प्रश्न– प्रहरीलाई ढुंगा खानमात्रै सडकमा पठाएको ?



काठमाडौँ, ९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई प्रहरीलाई ढुंगा खानमात्रै सडकमा पठाएको भन्दै प्रश्न गरेका छन् ।

आज कालु पाँडेको समाधीस्थलमा कवि गोष्ठीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “गृह मन्त्रीलाई पनि सोधेँ, पुलिसलाई सडकमा किन पठाएको ? सत्ताधारी दलले आन्दोलन गरेको छ । कति मेहनतमा बाटो बनाइएको छ । किन भत्काइएको ? क्रान्तिकारी भन्नेहरुले ?, “सडक नभत्काउ न भन्ने कोही छैन ? ढुंगा हानेका छन्, तोडफोड गरेका छन् प्रहरीले केही गर्न नहुने ? २५ जनाले ढुंगा हानेको छ । डेढ सय पुलिस ढाल उठाएर भागेको छ । एकथरीले प्रहरी सडकमा पठाउँछ केही नगर्नू भनेर हुन्छ ? के आदेश थियो ? ढुंगा र इट्टामात्रै हान्न पाउने आदेश थियो ? सरकारमा बस्ने तमासा गर्ने ? आफू मूर्तिझैँ चुप लागेर बस्ने, दायाँबायाँकालाई नारा लगाऊ भन्ने ? एमसीसी आफैँ सही गर्ने आफैँ टेबल गर्ने तर सडकमा किन तमासा ?”

अध्यक्ष ओलीले प्रहरीमाथि ढुंगा प्रहार गरेको भन्दै आक्रोश व्यक्त गरे ।