Banner News

एमसीसी ल्याउन लागिपरेकाहरू नै अहिले विरोधको नाटक गरिरहेका छन्: महासचिव पोखरेल



बुटवल, ११ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारमा सहभागि दलहरु नै एमसीसी ल्याउन लागिपरिहेता पनि सडकमा विरोधको नाटक गरिरहेको दावी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका दलहरुलाई लक्षित गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । एमसीसी प्रतिनिधिसभामा टेवलभएसागै उक्त दलहरु विरोधमा सडकमा ओर्लीएका छन् भने सदनमा प्रस्तुत गर्न भने समर्थन जनाएका थिए ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले बुधबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारमा सहभागी दल र नेताहरूले दोहोरो चरित्र देखाउँदा एमसिसी परियोजना विवादित बन्दै गएको बताउनुभयो । सरकारमा रहेकाहरूले एमसिसी परियोजनाको प्रस्ताव संसदमा टेबल गर्ने विषयमा सहमति गर्ने र बाहिर जनताका बीचमा भ्रम सिर्जना गरेर जनतालाई विभाजित गर्ने काम गरेको आरोप लगाउँदै उहाँले सरकारमा रहेकाहरूले नै स्पष्ट दृष्टिकोण बनाउन नसक्दा एमसिसी परियोजना विवादित बनेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसदभित्रको रमिता हेर्दा गाइजात्राजस्तै लाग्छ, सत्तामा सहभागी एउटा पक्ष प्रस्ताव टेबल गर्छ, अर्को सत्ता पक्ष सरकारका विरूद्ध सडकमा ढुंगामुढा गर्छ, यस्तो रमिता कहीँ हुन्छ रु झलनाथ खनाल प्रधानमन्त्री हुँदा नेपालले एमसिसीमा आफ्नो हकदाबी गरेको थियो । पुष्पकमल दाहाल प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा नेपालमा एमसिसीको आधार तयार गरिएको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा हस्ताक्षर भएको थियो। तर अहिले उनीहरू नै सरकारमा छन् र उनीहरूले नै एमसिसीका बारेमा रमिता देखाइरहेका छन् ।’

सरकारले एमसिसी पारित गर्न एमालेसँग सहयोग मागेको भए पनि संसदका गतिविधिमा भाग लिन एमालेले राखेका मागहरू सम्बोधन गर्नुपर्ने र माग सम्बोधन नहुँदासम्म एमालेले एमसिसीको विषयमा कुनै धारणा नदिने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘एमालेले कारवाही गरेका १४ जना सांसदहरूलाई सांसद पदबाट नहटाएसम्म एमालेले कुनै पनि धारणा दिँदैन, संसदमा छलफल अगाडि बढाउन पहिले हाम्रा माग सम्बोधन हुनुपर्योे, गैरसांसद राखेर संसद चलाउन सकिँदैन ।’