राजनीति

महामन्त्री शर्माको चेतावनी : काँग्रेसले गठबन्धन कुरेर बस्दैन



काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलहरुले सरकारले संसदमा प्रस्तुत गरेको एमसीसीको विरुद्धमा गठबन्धनका दलहरु लागे त्यसलाई कांग्रेसले कुरेर बस्न नसक्ने चेतावनी दिनुभएको छ ।

बिहीबार साँझ न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताउनुभयो । जनताको हितको विषयमा सत्ता पक्ष र विपक्षी दल एक ठाउँ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली काँग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पार्नुभयो । सत्ता साझेदार दलहरुको रुपमा रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादीलाई द्वैध चरित्र नदेखाउन आग्रह गर्नुभयो ।

विभिन्न राजनैतिक दलहरूको गठबन्धन तत्कालीन राजनैतिक निकास र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकता सँगै समृद्धि विकासको मुद्दामा पनि एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।