राजनीति

सांसद बस्नेतद्वारा धोबीखोलाको पक्की पुल उद्घाटन



भक्तपुर, १४ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले धोबीखोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा निर्माण सम्पन्न घट्टाको बाँध धोविखोला मोटरेबल पुलसँगैको विश्राम स्थल, टेबुल टेनिस र व्याडमेन्टीन कोट सहितको खेल मैदानको उहाँले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेविरुद्ध बनेको गठबन्धनको अवको भविष्य कस्तो हुन्छ भन्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीको समयमा दैनिक उद्घाटन र शिलान्यास भएर वित्ने गरेको थियो । यो सात महिनामा गठबन्धनको हालत कोदो र तोरी एकै ठाउँ मिसाए जस्तो भयो । कोदो र तोरी मिसाएर पिस्यो भने न त तेल आउँछ, न त पिठो नै आउँछ । यो गठबन्धन अहिले सोही हालतमा छ । न पिठो दिन सक्छ, न त तेल नै दिन सक्छ । सात महिला मुलुकको लागि खेर गयो ।’

सरकारले जनताको पक्षमा नभई गठबन्धन कसरी बचाउने, एमसीसी कसरी पास गर्ने भन्ने मात्र ध्यान दिएको उल्लेख गर्दै नेता बस्नेतले हिजो सेटिङबाट हटाएको केपी ओलीलाई अहिले प्रधानमन्त्री खाइदिनु पर्यो भने नमस्ते गर्दै बालकोट आउन थालेको दावी गर्नुभयो । केपी ओली सरकारले दिएको बजेटले नै भक्तपुरमा हालसम्म शिलान्यास र उद्घाटन भइरहेको उल्लेख गर्दै उहाँले एमालेको सरकार भएको समयमा १०० रुपैंया ल्याउन नसक्नेले एमालेले गरेको विकासको विरोध गर्नुको औचित्य नभएको बताउनुभयो ।

देशको राजनीति अन्यौलता तर्फ गइरहेता पनि भक्तपुरमा विकासको कामलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उहाँले एमालेको नेतृत्वको सरकारले विकास निर्माणमा चाइनाको रेलभन्दा पनि तिव्र गतिका साथ हिँडिरहेको सरकारलाई परमादेशबाट हटाएको भन्दै आक्रोस जनाउनुभयो । पछिल्लो सात महिना मुलुकको दुर्भाग्य भएको उल्लेख गर्दै उहाँले १० खर्वभन्दा बढी मुलुक घाटामा गएको साथै मुलुकमा महंगीले आकाश नै छोएको बताउनुभयो । एमालेले भक्तपुरमा गरेको विकास देखेर गठबन्धनका पार्टीमा जनता नभएको उहाँले दावी गर्नुभयो । जनताको चाहना नै विकास र समृद्धि भएकाले एमालेले मात्र भक्तपुरको विकासलाई बहुआयमिक ढंगले अगाडी बढाएको सविस्तार उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुरमा त गठबन्धनका कुना काप्चामा एक दुई जना होलान् तर समाजमा नै त छैनन् । भक्तपुरका जनताले विकासले डाँडा काँडा ढाकोस भनि आर्शिवाद दिनुभएकाले अहिले भक्तपुरमा एमालेको नेतृत्व आएसँगै स्वार्णिम युगको रुपमा स्थापित भएको छ । भक्तपुरमा अब एमालेको प्रतिस्पर्धी पार्टी नै छैन । राजनीति गर्ने भनेको विकास र समृद्धिको साथमा समाज रुपान्तरणको लागि एमाले जनताको मन मस्तिष्कमा रहेको छ । अरु पार्टी त कुनामा बसेर लुकि छिपी भ्रम छर्नेमात्र हो, एमालेले गरेको विकास देखेर मानसिक रुपमा समस्या पैदा भएकाहरुले विकासको विरोध गरिरहेका छन् । मानसिक रुपमा सहि तथा जनताको सारथीको रुपमा भक्तपुरमा एमालेबाहेक हुन सक्दैन । विकास विरोधी कुतत्वहरुलाई आगामी निर्वाचनमा जनताले हिसाव किताव गर्नेछन् ।’

सांसद बस्नेतको प्रमुख आतिथ्त्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य शशिजंग थापा, भक्तपुर जिल्ला समन्वय समिति उपप्रमुख सरिता कुवर, सूर्यविनायक नगरपालिका उपप्रमुख जुना बस्नेत, कार्यकारी प्रमुख राजेन्द्र कणेल, वडा अध्यक्ष रविन्द्र सापकोटालगायतको उपस्थिती रहेको थियो ।