काठमाडौँ, २४ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अभियान सञ्चालन गर्दैछ ।
‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत कांग्रेस ६ हजार ७४३ वडामा पुग्ने तयारीमा रहेको सहमहामन्त्री भीष्मराज आङ्दम्बेले जानकारी दिनुभयो । सवै स्थानीय तहमा विगतको नेकपा नेतृत्वको सरकारले गरेका नकरात्मक गतिविधिहरुको भण्डाफोर अभियान चलाउने भएको छ । फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन २० गतेबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन पार्टी नेतृत्व व्यस्त भएपछि अभियान सञ्चालन हुन सकेन । यस्तै १६ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्न नसक्दा अभियान प्रभावित भएको थियो ।
जसको मुख्य उद्देश्य स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउन माहोल बनाउने रहेको छ । प्रतिनिधिहरु वडा र टोलटोलमा पुगेर कांग्रेसको पक्षमा कार्यकर्ताहरुमा उत्साह भर्ने काम गर्ने उद्देश्य पार्टीले लिएको छ । पार्टीले संसदबाट अनुमोदन भएको एमसीसी परियोजनाका विषयमा जनस्तरमा छरिएका भ्रम र पार्टीप्रति उत्पन्न शंका निवारणका लागि बुँदागत रुपमा अभियानबाट भ्रम चिर्ने तयारी पनि गरेको छ । पार्टीले अभियान अन्तर्गत प्रदेश कार्यसमितिलाई केन्द्रको कार्यक्रममा असर नपर्ने गरि आफ्नो प्रदेश भित्र ‘घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान’ थप गरेर सञ्चालन गर्ने अधिकार पनि दिएको छ । यस्तै स्थानीय तहमा पार्टीको उमेदवार चयनका लागि पूर्व अध्ययन गरि प्रदेश कार्यसमितिलाई प्रतिवेदन बुझाउन प्रत्येक स्थानीय तहमा अभियानको अन्तिम सातामा प्रदेश प्रतिनिधि खटाउने निर्णय पनि कांग्रेसले गरेको छ । यस्तै प्रदेशले आफ्नो प्रदेशभित्रको समग्र अभियानलाई सम्पूर्ण अनुगमन गर्नुपर्ने जिम्मेवारी पनि केन्द्रले दिएको छ । कांग्रेसले सञ्चालन गर्ने अभियान र त्यससँग सम्बन्धित हरेक गतिविधि सामाजिक संजाल र स्थानीय सञ्चारमाध्यममार्फत् प्रचार गर्ने तयारी गरेको छ र त्यसका लागि छुट्टै प्रचार टिम बनाउने निर्णय पनि गरेको छ ।
यस्तै अभियानकै दौरान पार्टीले ‘हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी’ को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालन गराउने नीति लिएको छ । वडा तहसम्म पुगेर कांग्रेसले तत्कालीन केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाको सरकारको तीन वर्षे कार्यकालमा भएका जनविरोधि गतिविधि, असंवैधानिक कदम र भष्टाचार प्रकरण जनतासमक्ष चुनावी एजेन्डा बनाएर लैजाने तयारी गरेको छ । यस्तै वर्तमान कांग्रेस नेतृत्वको सरकारले कोभिडको विरुद्ध ७० प्रतिशत नागरिकलाई खोप लगाएको भन्दै चुनावी एजेन्डा बनाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्