म्याग्दी, २५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा पालिकास्तरीय दोस्रो किशोरी सम्मेलन भएको छ । ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मङ्गलबार भएको सम्मेलनले बालविवाह नियन्त्रण, बालअधिकार संरक्षण र लैङ्गिक समानता कायम गर्न ११ बुँदे घोषणापत्र जारी गरेको छ ।
गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा घोषणापत्र जारी गरेको सङ्गमका अध्यक्ष दिपेन्द्र शर्माले बताए । किशोरावस्थामा विवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, बीस वर्ष पुगेपछि मात्र विवाह गर्ने, बीस वर्षभन्दा कम उमेरमा विवाह हुन लागेको सूचना प्रहरी, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ । सबै विद्यालयमा महिनावारी हुँदा प्रयोग गर्ने प्याड विसर्जनका लागि इन्सिलेटरको व्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागीहरूले महिनावारी हुँदा सफला र धोएको प्याड घाममा सुकाएर मात्र प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बीस वर्ष नपुगी विवाह गर्ने जोडीहरूको गाउँ–ठाउँमा मिलाउने गलत प्रवृत्तिको विरोध गर्ने र त्यस्तो हुन लागेको जानकारी पाएमा प्रहरीलाई सूचना दिने घोषणापत्रमा उल्लेख छ । किशोरीमाथि हुने यौन शोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको ग्यारेन्टी र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन् । बाँच्न, संरक्षण, विकास र सहभागिताको नैसर्गिक अधिकारको सहजरूपमा उपभोग गर्ने वातावरण बनाउन माग गरेका छन् । सम्मेलनमा सहभागीहरूले बालविवाह नियन्त्रणमा समुदायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दबाब आउने गरेका, महिनावारीको समयमा विद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुव्र्यवहार भएको, महिला र पुरुषको समान ज्याला कायम नभएको बताएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्