राजनीति

प्रधानसेनापति शर्मा लेबनान, सिरिया र अमेरिकाको भ्रमणमा जाँदै



काठमाडौँ, १७ जेठ । प्रधानसेनापति प्रभुराम शर्मा सातदिने विदेश भ्रमणमा जाने भएका छन् ।

द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली फौजको हौसला अभिवृद्धि गर्न प्रधानसेनापति शर्मा सातदिने विदेश भ्रमणमा जाने भएका हुन् ।

असार (४–१०) सम्म यूएन मिसनमा हुने भ्रमणमा मिसनहरूको वस्तुस्थित, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्था लगायतबारे उनले जानकारी लिने बताइएको छ । भ्रमणको दौरान प्रधानसेनापति शर्मालगायतका भ्रमण टोलीले लेबननस्थित युनिफिल मिसन र सिरियास्थित यूएनडफ मिसनको निरीक्षण भ्रमण गर्ने तालिका रहेको जंगी अड्डाले जनाएको छ ।

भ्रमणमा प्रधानसेनापति शर्माले ती राष्ट्रहरू तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाटसमेत गर्ने कार्यक्रम छ । उक्त निरीक्षण भ्रमणपछि प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा त्यहाँ जानेछन् । पाँच दिन हुने उक्त भ्रमण असार(१३–१७) सम्म हुनेछ ।