काठमाडौँ, १७ जेठ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रियसभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटसम्बन्धी छलफलमा बोल्दै उहाँले एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा हो भनेर प्रश्न गर्नुभयो । नेता श्रेष्ठले एमसीसी परियोजना अन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
लप्सीफेदी–रातमाटे, हेटौंडा–दमौली, बुटवल–गोरखपुर ४ सय केभीएको प्रसारण लाइन निर्माण कार्य अगाडि बढाइने कुरा बजेटमा पेश भएको उल्लेख गर्दै उहाँले प्रसारण लाइन निर्माण गर्ने कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव भएको खण्डमा सरकार र अर्थमन्त्री धन्यवादको पात्र रहेको बताउनुभयो ।
नेता श्रेष्ठले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि समेत रहेको बताउनुभयो । उहाँले नेपालको विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको बताउनुभयो । नेता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न नसके पूँजीगत खर्च कार्यान्वयन अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले बजेटमा सरकारले मितव्ययिता गुणत्मक ढंगको नीति लिन नसकेको आरोप लगाउनुभयो । नेता श्रेष्ठले बजेटमा सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाउनुभयो ।
नेता श्रेष्ठले सार्वजनिक सवारीसाधनमा राज्यको दायित्व के हुन्छ भन्ने बारेमा सरकारले अहिले प्रष्ट नबोलेको भन्दै सार्वजनिक सवारीसाधनको मुल जिम्मेवारी र ठूला पारवाहनसँगको मुल जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्