झापा, १७ जेठ । स्थानीय तह निर्वाचनमा झापा जिल्लामा १७.१८ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । गएको वैशाख ३० गते सम्पन्न निर्वाचनमा मतदाता शिक्षाको कमी र चुनावी गठबन्धन दलका चुनाव चिह्नमा मतदाता झुक्किँदा मत बदर बढी हुन गएको कार्यालयले जनाएको छ ।
वि.सं. २०७४ को तुलनामा यस निर्वाचनको मत बदर संख्या दोब्बर हुन पुगेको छ । वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा ९.६५ प्रतिशत मात्र मत बदर भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार जिल्लामा सबैभन्दा बढी मत बदर उपप्रमुख, सदस्य र दलित महिला सदस्य पदका उमेदवारको भएको छ । १५ पालिका रहेको जिल्लामा खसेको कुल मत संख्या चार लाख ५५ हजार २६८ मध्ये यी तीनै पदको उमेदवारको मत बदर संख्या २० प्रतिशतको दरले रहेको उनको भनाइ छ ।
उनले प्रमुख पदमा ५७ हजार ९४५, उपप्रमुखमा ९४ हजार ८५६, वडाध्यक्षमा ५२ हजार ४६३, महिला सदस्यमा ७९ हजार १८८, दलित महिला सदस्यमा ९१ हजार १८४ र खुला सदस्यमा एक लाख ८७ हजार ३६१ मत बदर भएको बताए । कार्यालयका सूचना अधिकारी न्यौपानेका अनुसार कुल खसेको मतको १७.१८ प्रतिशतम बदर भएको थियो । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदाता संख्या रहेकामा ७०.४८ प्रतिशत अर्थात् चार लाख ५५ हजार ४७६ जनाले मात्र मतदान गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्