Banner News

वृद्धभत्ता एमालेको ब्रान्ड हो : सांसद पाण्डे



काठमाडौँ, १८ जेठ । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा (एमाले)का सांसद सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ‘ब्रान्ड’ भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका बोल्दै उनले जनयुद्ध माओवादीको र राष्ट्रिय मेलमिलापको नीति नेपाली कांग्रेसको भनेजस्तै एमालेको ब्रान्ड वृद्धभत्ता भएको बताए ।

उनले भने “वृद्धभत्ता जतिसुकै कुरा गरे पनि एमालेको ब्रान्डजस्तो हुन्छ । तपाईं ६८ मा झार्नुहोस्, ५८ मा झार्नुहोस्, केही फरक पर्दैन,” “जनयुद्धमा हाम्रो दाबी पुग्दैन । राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन ।” उनले वृद्धभत्तामा बढाए पनि, समय घटाए पनि जनताले एमालेलाई स्याबास र धन्यवाद दिने बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका उनले शिक्षामा ११ प्रतिशत पनि बजेट नपरेको उल्लेख गरे । स्वास्थ्यमा पनि गएको वर्षभन्दा कम बजेट आएको भन्दै गुनासो गरे । “तपाईं अर्थमन्त्री नहुँदा भन्नुभएको थियो, म अर्थमन्त्री भएको भए शिक्षामा २० प्रतिशत बजेट छुट्ट्याउँथे । शिक्षामा बजेट बढाउँछु भनेको मान्छेले बढाउनुहुन्छ भन्ने आशा थियो,” उनले भने, “तपाईंले शिक्षा र स्वास्थ्यमा कमिसन नआउने भएर बजेट नबढाएको भन्नुभएको थियो । त्यही भएर नबढाएको हो ? शिक्षामा पैसा नहाली समाजवाद कसरी ल्याउनुहुन्छ ?”