समाचार

सङ्खुवासभामा पहिराले पुरिएर दुई मजदुरको मृत्यु



सङ्खुवासभा, १८ जेठ । जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगरको मृत्यु भएको हो ।

आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको हो । चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ ।