समाचार

‘लागु पदार्थ खाएकै आधारमा प्रयोगकर्तामाथि हिंसा गर्न छुट हुँदैन’



काठमाडौँ, ९ पौष । मद्यपान, लागु पदार्थ प्रयोगकर्ता महिलाले आफुमाथि हुने विभेद र हिंसात्मक व्यवहारलाई चिनेर त्यसको विरोध गर्न सिक्नुपर्नेमा जोड दिइएको छ । उक्त पदार्थ प्रयोग गर्नु विविध दृष्टिले राम्रो नभएपनि लागु पदार्थ खाएकै आधारमा प्रयोगकर्तामाथि हिंसा गर्न छुट भने कसैलाई पनि नहुने सरोकारवालाले जनाएको छ ।

दृष्टि नेपाल र लुम नेपालले लैङ्गिक हिंसा विरूद्ध अभियान चलिरहेको सन्दर्भमा राजधानीमा आयोजित मद्यपान, लागु पदार्थ प्रयोगकर्ता महिलामाथि हुने हिंसाबारे जागरणमुलक कार्यक्रममा सो कुरा बताइएको हो । सो अवसरमा २२ जना महिलाको सहभागिता थियो ।

कार्यक्रममा दृष्टि नेपालका संस्थापक परिना लिम्बुले आफ्नो शरीरमाथि आफ्नै निर्णय लागु गर्न पाउनु पनि मानवअधिकारकै विषय हुन्, भन्दै लागु पदार्थ खाएकै आधारमा, छोटा कपडा लगाएकै आधारमा महिलामाथि अनेक टिकाटिप्पणी गर्ने, समुदाय र राज्य,प्रशासनले समेत यसलाई जे गरे नि हुन्छ भन्ने गलत धारणा गलत हो, त्यस्को विरोध तथा प्रतिकार गर्न आग्रह गर्नुभयो ।

उहाँले आफ्ना लागि आफैंले लड्न सिक्नुपर्छ, दातृ निकाय वा अरूको मुख ताक्नुभन्दा जे, जत्ती सक्छ, एकआपसमा मिलेर हिंसा विरूद्ध र अन्य कामका लागि पनि नेपाली महिला जुटेर लागे समानताको अनुभूति गर्ने दिन धेरै टाढा छैन, भन्नुभयो । कार्यक्रममा लुम नेपालकी कार्यक्रम अधिकृत जेनिषा महर्जनले हिंसाका विविध प्रकारबारे वृहत कार्यपत्र प्रस्तुत गर्दै हिंसा गर्ने र सहने दुबै प्रवृत्ति गलत हो,भन्नुभयो । उहाँले हिंसा गर्नु पनि हुन्न र सहनु पनि हुन्न, भन्दै आफुमाथि भइरहेको हिंसाबारे बुझेर हिंसाको प्रतिरोध गरौैं, त्यस विरूद्ध आवाज उठाउन आग्रह गर्नुभयो ।

दृष्टी नेपालले विगत १६ वर्षदेखि नेपालमा महिला लागु औषध तथा मद्यपान प्रयोगकर्ताहरुको हक/अधिकार र सम्वन्धित मुद्दाहरु विषेश गरि स्वस्थ र मानव अधिकार सम्बन्धि वकालत गर्दै आइरहेको छ । धेरै वर्षको अनुभव र सिकाइलाई दृष्टिले अब आउने दिन मा ‘ वी वियोन्ड एचआइभी भन्ने नारासहित काम गर्ने भएको छ । सोही सिलसिलामा दृष्टिले लुम नेपालसँगको सहकार्यमा समाज, सञ्चारमा ओझेल परेका समुदायका महिलासँग काम गरिरहेको छ ।

बर्षौदेखि लुकेको समस्यामा समावेशीकरण, अधिकारमा पहुँच, सेवा र निर्णायक प्रक्रियाका लागि वकालत गरिरहदा समुदायका महिलाको गहन तर ओझेलमा परेका मुद्दालाई उजागर गर्ने र महिला हिंसा विरूद्धको आन्दोलनसँग जोड्ने प्रक्रिया भइरहेको दृष्टिले जनाएको छ ।

दृष्टि नेपालका अध्यक्ष परिना लिम्बुले नेपालमा लामो समयदेखि महिला सशक्तिकरण, महिला हिंसा विरूद्धको दिवस, समानताका लागि चलिरहेको महिला आन्दोलनमा लागु पदार्थ प्रयोगकर्ता महिलाको मुद्दालाई पनि मानवअधिकारको दृष्टिले जोड्ने सन्दर्भमा कार्यक्रमको आयोजना गरी ३६५ दिन नै यस सन्दर्भमा काम गरिरहेको सन्देश दिन खाजेको विचार व्यक्त गर्नुभयो ।

साथै महिला लागु औषध तथा मद्यपान गर्ने महिलाले पनि अन्य सरह जीवन बाँच्न पाउने हक/अधिकार बराबर नै छ भन्ने कुरामा जोड दिनुभयो । उहाँले विभिन्न दातृ समुदाय र मोहन राप्चा सुनुवार, तारालगायतले व्यक्तिगत सहयोग उपलब्ध गराउँदै कार्यक्रम गर्दै आएको बताउनुभयो । विनासकारी भुकम्प, कोभिड–१९ को समयमा पनि दृष्टिले लक्ष्यित महिला समुदायलाई खाद्यान्न, लत्ताकपडा, यौन तथा प्रजनन स्वास्थ्य सुरक्षाका सामाग्री विदेश बस्ने दिदीबहिनी, दाजुभाइसँगको सहयोगमा समेत वितरण गर्दै आएको छ ।