राजनीति

गृह श्रमिकलाई सामाजिक सुरक्षा कोषसँग जोड्न माग



काठमाडौँ, ९ पौष । स्थानीय तहले गृह श्रमिकको सूचिकरण गर्दै सामाजिक सुरक्षा कोषसँग जोड्ने पहल गर्न सरोकारवालाले माग गरेका छन् ।

होमनेट साउथ एसिया, श्रम तथा सामाजिक अध्ययन केन्द्र (क्लास नेपाल)लगायतको संयुक्त पहलमा शुक्रवार राजधानीमा आयोजित ‘गृह श्रमिकको अवस्था र स्थानीय सरकारको भूमिका विषयक कार्यक्रममा सहभागी वक्ताहरूले घर–घरमै सिपमुलक काम गर्दै आर्थिक सशक्तिकरणमा योगदान दिने श्रमिकलाई स्थानीय तहले पहिचान गर्दै उक्त सेवासँग जोड्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा गृह श्रमिक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै श्रम तथा सामाजिक अध्ययन केन्द्रका कोषाध्यक्ष गोमा पाण्डेले आ–आफ्नै घरमा बसेर, सिलाई, बुनाई, इम्ब्रोइडरीलगायतका सिपमुलक काममार्फत आय आर्जन गर्ने वर्गका श्रमिकलाई गृह श्रमिक र घर, घरमा तलब पाउने गरी सहयोगीको भूमिकामा काम गर्नेहरूलाई घरेलु श्रमिक भन्ने गरिएको बताउनुभयो ।

उहाँले गृह श्रमिकको पहिचानमै स्पष्ट हुन आवश्यक छ भन्दै विशेष गरी महिलाले घर परिवार सम्हाल्दै आय आर्जनसँग जोडिने प्रक्रियालाई राज्यले पहिचान गरी सूचिकृत गर्ने, तथ्याङ्क सङ्कलन र गृह श्रमिकले उत्पादन गरेका बस्तुको बजार व्यवस्थापनसँगै नीति नै बनाएर सम्वोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा होमनेट दक्षिण एशियाका क्षेत्रिय संयोजक सृष्टि जोशीले सन् २००० मा काठमाडौँ घोषणापत्र जारी गर्दै दक्षिण एशियाका आठ देशका गृह श्रमको पहिचान, र श्रमिकबीचको ऐक्यवद्धताका लागि एकजुट भएर काम गरिरहेको बताउनुभयो ।
उहाँले नेपाललगायत विश्वभरकै महिला तथा पुरूषले समेत श्रम,सिपका माध्यमबाट अनौपचारिक रूपमा घर,घरमै विभिन्न सामग्री उत्पादन गर्दै आर्थिक उपार्जन गरी देशको अर्थतन्त्रमा योगदान पु¥याइरहेको बताउनुभयो । साथै होमनेट साउथ एसियाले गृह श्रमिकको पहिचान र नीतिगत व्यवस्थाका लागि जागरणमुलक काम गरिहेको बताउनुभयो ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले सो नगरपालिकामा गृह श्रमिकको सूचिकरण थालेको र गृहश्रमिकले घर, घरमै बुनेर तयार गर्ने कपडाको बजारीकरण र बुन्ने व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
गोकर्णेश्वर नगरपालिकाका कार्यपालिका सदस्य गौरी श्रेष्ठले आफु पनि यस अघि गृह श्रमिक हुँदै कार्यपालिका सदस्यको जिम्मेवारी प्राप्त गरेकोमा गृह श्रमिकलाई व्यवस्थित वातावरणमा काम गर्ने पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीले तारकेश्वर नगरपालिकाको घर, घरमै स्वरोजगारमा संलग्न महिलाको सिप, मेहनतलाई बजारीकरण र सूचिकरण थालेको जानकारी दिनुभयो ।

गृह श्रमिकहरूद्वारा स्वरोजगारको रुपमा आफ्नो वासस्थानमै सिप र श्रमको प्रयोग गरी सिलाई, बुनाई, बेतबाँस, माटा, काठ, ढुङ्गा, थाङ्का, ढाकाका कपडा, पोते, क्रिष्टलका सामाग्री, इम्ब्रोइडरी, मखमलका जुत्तालगायतका बस्तुहरू तयार गर्ने कामलाई होमनेट साउथ एसियाले गृह श्रमिकको पहिचानसहित टे«ेड युनियन र सुचिकरण गर्नुपर्नेमा पैरवी गर्दै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम स्थानीय तहले श्रम डेस्क सञ्चालन कार्यविधि जारी गरी कार्यान्वयन गर्न सक्ने प्रावधान रहेको छ भने आफ्नो क्षेत्रका सबै श्रमिकहरूको पञ्जीकरण गर्नुपर्ने व्यवस्था रहेको छ, जसमा गृहश्रमिक समेत जोडिने छन् ।