राजनीति

नेपाल उद्योग परिसंघ र प्रधानमन्त्री दाहालबीच भेटवार्ता



काठमाडौँ, १२ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग परिसंघले भेटवार्ता गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज विहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो ।

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिए । परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबोटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको हो ।

परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।